धरान / ५१ हजार पुरस्कार राशीको कवि विमल गुरुङ स्मृति पुरस्कार महेश पौड्यालको कथा संग्रह ‘त्यसपछि फुलेन गोदावरी’ ले पाएको छ । पुस्तकालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका ४ पुस्तकमध्ये पौड्यालको कथा संग्रहलाई छनौट समितिले पुरस्कारको लागि छनौट गरेको बताएको छ । पुस्तकालयले कवि विमल दिवंगत भएको दिन बैशाख २४ गते सो पुरस्कार प्रदान गर्ने भएको छ । कृर्तिलाई मोफसलमा दिइन लागेको यो ठूलो धनराशीको पुरस्कार हो । ‘छनौट समितिले मनोनयनमा परेको ४ कृर्तिमध्ये ‘त्यसपछि फुलेन गोदावरी’लाई योग्य ठहर गरेको पुस्तकालयका सदस्य सुदिप पाख्रिनले जानकारी दिए ।
संग्रहले नेपाली ग्रामिण जनजीवनसँगै उत्तरपुर्वी भारतका नेपालीहरुको कथा साथै निम्न र मध्यम वर्गीय पात्रहरुको कथालाई समेटेको छ । भाषाशैलीमा परिपक्वता, वृद्धवृद्धा, बाल मनोविज्ञानलाई यथार्थवादी शैलीमा पस्किएको छ । पुरस्कारको लागि पौड्यालको कथा संग्रह ‘त्यसपछि फुलेन गोदावारी’, भिष्म उप्रेतीको कविता संग्रह ‘आधा उज्यालो’, प्रशन्न घिमिरेको कविता संग्रह ‘मिजोर’ र कल्पना कलापुञ्जको उपान्यास ‘सञ्जिवनी’ मनोनयनमा परेको थियो । समितिले यी चार कृर्तिमध्ये पौड्यालको कथासंग्रहलाई पुरस्कृत गर्ने घोषणा शुक्रबार गरेको हो ।
पुस्तकालयले २०७४ साल(एक बर्षभित्र)को बैशाखदेखि चैत मसान्तसम्म देशभरबाट प्रकाशित कुनै पनि कृर्ति एवं पुस्तक पठाउन सुचना आह्वान गरेको थियो । पुस्कालयका अनसार यो बर्ष ४२ वटा कृर्तिहरु प्राप्त भएको थियो । लेखक, साहित्यकारहरुलाई प्रोत्साहन गर्न यो बर्षदेखि पहिलो पटक विमल स्मृति पुरस्कार दिइन लागेको पुस्तकालयकाल अध्यक्ष एवं विमलका बुबा पुर्णबहादुर गुरुङले बताए । पुरस्कारको राशी नगद ५१ ह्जार रहेको छ । धरान १८ , बुद्धचोकस्थित पुस्तकालयले हरेक बर्ष कवि विमलको जन्मदिनमा कार्तिक १९ गते प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव गर्दे आएको छ । प्रतियोगितामा देशभरको युवा कविहरुले सहभागीता जनाउदै आएका छन् ।