धरान /धरान उपमहानगरपालिका र इलाम नगरपालिका विच गत वैशाख १ गते स्थापित भएको भगिनी सम्बन्ध पश्चात दुवै नगरको संयुक्त आयोजनामा अाजदेखि धरानमा टि एक्पाे हुदै छ ।  चिया विक्री तथा प्रदर्शनी कार्यक्रममा इलामको चियाको प्रबद्र्धन गर्ने मुख्य उदेश्य भएको इलाम नगरपालिकाका प्रबत्ता ठाकुर श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनी बैशाख २१ गतेसम्म चल्ने छ । प्रदर्शनी धरान–१२ स्थित छाताचोकमा हुने प्रदर्शनीमा विभिन्न ३० वटा स्टल रहनेछन् । जसमा २० वटा स्टर चियाको रहनेछ भने १० वटा स्टलहरु इलाममा उत्पादन भएको दुग्धजन्य वस्तुहरु र कृषि उत्पादन समेत रहने कार्यक्रमको सह–आयोजक इलामेली समाज सुनसरी मोरङका अध्यक्ष कृष्ण शाहले बताए । साथै इलाम र धरान दुई नगरको संयुक्त आयोजनामा हुने कार्यक्रम भएको प्रदर्शनीमा धरानमा उत्पादन भएको अर्गानिक कृषि वस्तु, बासका सामाग्री समेत प्रदर्शनीमा रहनेछ । साथै धरानका पर्यटकीय क्षेत्रको फोटो समेत प्रदर्शनि हुने प्रदर्शनी आयोजक समितिकी संयोजक तथा धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीले बताइन् ।
कार्यक्रमको उद्घाटन पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले गर्नेछन् भने धरान उपमहानगरपालिका र इलाम नगरपालिकाका प्रमुखले कार्यक्रमको अध्यक्षता गर्ने जनाइएको छ । त्यस्तै गरी प्रदर्शनीमा इलाम नगरपालिकका १२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु साथै प्रमुख, उपप्रमुखसहित सहभागी हुने छन् ।
चियाको प्रबद्र्धन गर्ने कार्यक्रम भएकोले विशेष गरी कार्यक्रममा सहभागी भएकाहरुलाई निःशुल्क चिया टेष्टीङ गर्न दिइने समाजका अध्यक्ष शाहले बताए । उनका अनुसार इलामका चिया उत्पादकहरु र धरानका चिया विक्रि गर्ने व्यवसायीहरुबीच भेटघाटको कार्यक्रम, इलाम र धरानका पत्रकारहरुबिचको भेटघाट कार्यक्रम समेत राखिएको छ ।