ललितपुर १ सय २९ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार लगनखेलमा यातायात मजदुरहरुले म जिम्मेवार यातायात मजदुर भन्दै सर्वसाधारणसंग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ललितपुरको लगनखेल बसपार्कमा सार्वजनिक स्थलमै खुल्ला कार्यक्रम गरेर म जिम्मेवार यातायात मजदुर भन्ने प्ले कार्ड सहित प्रतिवद्धता जनाएका हुन् ।
उनीहरुले मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, मोवाईल फोन प्रयोग गर्दै सवारी नचलाउने, तोकिए भन्दा बढी भाडा नलिने, महिला, बालबालीका, बृद्धबृद्धालाई सम्मान गर्ने, अपशव्द प्रयोग नगर्ने, कसैलाई पनि दुव्यवहार नगर्ने सन्दर्भमा म जिम्मेवार यातायात मजदुर भन्ने उद्घोषका साथ सार्वजनिक थलोबाटै प्रतिवद्धता जनाएका छन् । तिन सयको संख्यामा चालक, सहचालक तथा परिचालकहरु सहभागी कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यात्रुमैत्री व्यवहार र आपसी हार्दिकतामा संगलेले अभियान सञ्चालन गरेको बताउदै मजदुर दिवसको अबसरमा सार्वजनिक थलोबाटै सर्वसाधारणहरुलाई साक्षि राखेर मजदुरहरुले प्रतिवद्धता जनाएको बताए ।
मे दिवस मजदुरहरुको मुक्तिको संघर्षको बलिदानीपूर्ण र ऐतिहासिक दिन हो त्यो ईतिहासको स्मरण गर्दै नयां कामको प्रारम्भ गर्ने दिन पनि भएकाले यातायात मजदुरहरुले यो अभियान प्रारम्भ गरिएको राईले बताए उनले भने अब देशैभरीका यातायात मजदुरहरुलाई यो अभियानमा संलग्न गराउदै यातायात मजदुरहरुलाई समाजको सम्मानित नागरिकका रुपमा विकास गरिने छ ।
कार्यक्रम संगठन ललितपुर महानगर कमिटी अध्यक्ष शरण लामाको अध्यक्षता र सचिव अजय श्रेष्ठले सञ्चालन गरेका थिए ।