धरान / प्रदेश नं. १ का सभामुख प्रदपिकुमार भण्डारीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुको संगमस्थल भएको उल्लेख गर्दै सभामुख भणडरीले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रो अनुपम विशेषता भएको सन्देश व्यक्त गरेका छन् । किरातहरु भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषता बोकेको आदिवासी भएको बताउदै किरात विविध मूल्य मान्यता र संस्कारले धनी भएको बताएका छन् ।  किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको बताइन्छ । किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरेको छन् । बालीनालीमा रोगव्याधि नलागोस्, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सकियोस् भन्ने कामनाका साथ मनाइने यस पर्वको ठूलो सांस्कृतिक र सामाजिक महत्व रहेको छ ।

यस्तै सभामुख भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा पनि शुभकामना व्यक्त गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश दिदै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताए ।
‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ । बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन् । गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएकाले उहाँप्रति हामीले गर्व गर्न सक्ने बताउँदै बुद्ध हामी सबै नेपालीहरूको लागि गर्वका प्रतीक भएको उल्लेख गरिएको छ । सभामुख भण्डारीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।