काठमाडौं / प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन आज हुँदैछ । पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा भएको थियो । आज दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा हुन लागेको हो ।निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरिसकेकाे । मतदान स्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएकाे छ ।

मतदानको लागि बिहान सात बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदानमा भाग लिन पाउने छन् ।

मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ । जसमा माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ । ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् । ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।

दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ । यही मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनको मतगणना पनि दोस्रो चरणको चुनाव सकिएलगत्तै सुरु हुनेछ । त्यसका लागि मतगणना स्थलमा सीसी टीभी क्यामरा जडान गरिएको छ भने तार जालीको बार समेत लगाइएको छ । ४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ ।

चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई भित्री घेरामा राखिएको छ । सबैभन्दा बाहिरको घेरामा नेपाली सेना र बीचको घेरामा सशस्त्र प्रहरीलाई खटाइएको छ ।

मतदान स्थल र त्यस वरपर सादा पोशाकका सुरक्षाकर्मी  र तालिमप्राप्त कुकुर पनि परिचालित छन् । सादा पोशाकका सुरक्षाकर्मीले सूचना संकलन गरी सम्वन्धित निकायमा रिपोर्टिङ गर्नेछन् ।

सुरक्षा संवेदनशीलताको आधारमा सेनाले हवाई र पैदल गस्ती समेत गरेको छ । निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने अधिकार सुरक्षाकर्मीले पाएका छन् ।