धरान / सुनसरीको हरिनगरा गाउँपालिकास्थित वडा नं. १ र २ मा अनुमति नलिई नीजी विद्यालयहरु संचालन हुदै आएको पाईएको छ । झण्डै एक दर्जनको संख्यामा रहेका विद्यालयहरु कम कक्षा संचालनको अनुमति लिएर बढि कक्षासम्म संचालन हुदै आएको पाईएको छ ।
हेलीलाईभ इङलिस वोर्डिङ स्कुल हरिनगरा–१ भुटाहाले कक्षा ६ सम्म मात्र दर्ता लिएर कक्षा १० सम्म संचालन गर्दै आएको स्थानिय अनसर हुसेनले जानकारी दिए । उनका अनुसार होलीलाईफ पब्लिक स्कुल हरिनगरा–१ ले कक्षा ५ सम्म अनुपति लिएर कक्षा १० सम्म संचालन गर्दै आएको छ । एभेरेष्ट पब्लिक स्कुलले कक्षा २ सम्म अनुमति लिएर १० कक्षासम्म संचालन गर्दै आएको छ । नेसनल डोल्डेन स्कुलले कक्षा २ सम्म अनुमति लिएर कक्षा ६ सम्म संचालन गर्दै आएको छ । रहियान पब्लिक स्कुलले ३ सम्मको अनुमति लिएर कक्षा ७ सम्म संचालन गर्दै आएको छ । यस्तै चन्द्र एकेडेमीले कक्षा १ सम्म अनुमति लिएर कक्षा ३ सम्म संचालन गर्दै आएको छ । वल्ड लिङ्क इङ्लिस बोर्डिङ स्कुलले कक्षा ५ सम्म दर्ता गरेर कक्षा ७ सम्म संचालन गर्दै आएको छ ।
विद्यालय संचालन तथा दर्ता गर्ने निकाय जिल्ला शिक्षा कार्यालय हो । दर्ता गरिए भन्दा बढि कक्षा लिएर विद्यलाय संचालन गर्न नियमत पाईदैन तर जिल्ला शिक्षा कार्यालयको अनुगमन नहुदा जिल्ला अनुमति लिएको भन्दा बढि कक्षा संचालन गर्ने विद्यालयहरुको संख्या बढेको छ ।
सरकारले कक्षा भन्दा तलको शिक्षा हेर्ने जिम्मा स्थानीय तहलाई नै जिम्मा दिएको छ । कम कक्षाको अनुमति लिएर बढि कक्षा संचालन गर्ने विद्यालयहरुलाई तुरुन्त बन्न गर्न निर्देशन दिएको हरिनगरा गाउपालिकाका अध्यक्ष गफर अन्सारीले बताए । यस अघि जिल्ला कार्यालयले अनुगमन नगर्दा विद्यालयहरुमा विकृति बढेको उनले बताए । आफुले विद्यालयहरुको अनुगमन शुरु गरेको जानकारी दिर्दै अनुमति लिए भन्दा बढि कक्षा संचालन गर्न रोक लगाउने उनले बताए ।
यस विषयमा जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले नीजी विद्यालयहरुको अनुगमन, दर्ता, खारेजीलगायतको सम्पूर्ण काम स्थानीय तहलाई जिम्मा दिएकाले आफुहरुको सरोकारको विषय नभएको बताए ।