धरान /धरान–५ झोरापाटामा रहेको जलकन्या कालिकादेवीको मन्दिरको  जीर्णाेद्वार गरिएकाे छ । मन्दिरको उद्घाटन यही वैशाख १५ गते हुने भएको छ । मन्दिर निर्माण समितिले बुधबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरको उद्घाटन कार्यक्रम र पूजाआजा खुल्ला गर्ने सम्बन्धी जानकारी दिइएको थियो । मन्दिर जाने बाटोमा पक्कि सिढी र मुल गेट निर्माण सम्पन्न भएको छ भने अन्य निर्माणकार्य अझै बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिए। मन्दीर निर्माण गर्न स्थानीय जीवन मेन्याङ्बोको अध्यक्षतामा ९ सदस्यीय निर्माण समिति गठन गरी स्थानयि बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका स्थानीय, विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा ४ लाख खर्च भएको अध्यक्ष मेन्याङ्बोले जानकारी दिए ।

धरान–१५ स्थित बगरकोट हुँदै पूर्व तर्फ करिब ३ किलोमिटरको दुरीमा मन्दिर क्षेत्र पर्दछ । झोरापाटाको धार्मिक आस्थाको रुपमा रहेको मन्दिर विगत ३ वर्षदेखि निर्माण कार्य सुरु भएको थियो । मन्दिरले धरानको पर्यटन व्यवसायमा सहयोग पुग्ने विश्वास मन्दिर निर्माण समितिले लिएको छ ।

मन्दिरमा प्रत्येक वर्ष वैशाख पूर्णीमाका दिन मेला लाग्ने गरेको छ भने स्थानीयले गरेका विभिन्न भाकललाई पूर्णता दिन सोही दिन बलि दिने प्रचलन ४० वर्ष अघिदेखि चलि आएको छ । धरान बजारको नजिकै रहेको मन्दिर सम्बन्धित निकायको वेवास्ता र प्रचार प्रसारको कमीले ओझेलमा परेको भन्दै यसको प्रबद्र्धनमा सबैलाई सहयोग गर्न निर्माण समितले आग्रह समेत गरेको छ ।