धरान /पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथी छुरा प्रहार गर्ने मुख्य आरोपीलाई प्रहरीले मंगलबार विहान पक्राउ गरेको छ ।

धरान–१५ स्थित महादेव चोक भन्दा तलबाट प्रहरीले कुम्बे राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरी माथि नै राईले अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक राउण्ड फायरीङ गरेको थियो । प्रहरीले राईलाई पक्राउ गर्न फायरीङ गर्नुपरेको इलाका प्रहरी कार्यालयका डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन् । तर प्रहरीले प्रहार गरेको गोलीले राईलाई भने लागेन र फायर खोलेपछि मात्र राईलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

धरान–१५ विशाल चोक नजिकै साथीकोबाट नोट लिएर आउने क्रममा विद्यार्थीमाथि आक्रमण भइ मोबाइल र पैसा समेत लुट्ने प्रयास भएको थियो । आक्रमणबाट बाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटा घाइते भएको डिएसपी पौडेलले जानकारी दिए ।

छुरा प्रहारबाट दुवैको छातीमा चोट लागेको छ भने सुजन खड्काको भने हातमा समेत चोट लागेको छ । घाइते विद्यार्थीहरुको उपचार धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सापकोटाको अवस्था सामान्य रहेपनि खड्कालाई भने तत्काल आइसियुमा भर्ना गरिएको थियो । खड्का पनि अहिले खतरा मुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।

आक्रमणकारी धरान–१५ बस्ने विज्ञान लिम्बूलाई सोमबार राती नै प्रहरीले पक्राउ गरेको थियो भने आज बिहान कुम्बे राई र लिम्बे भनिने विकेन लिम्बूलाई पक्राउ गरेको छ ।