धरान / सामाजिक परिचालक हकहित संरक्षण केन्द्र सुनसरीले दक्ष जनशक्ति राज्यले उपयोग गर्न माग गर्दे सोमबार प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
धरानमा एक कार्यक्रमको आयोजना गरि केन्द्रकी अध्यक्ष सवेरा श्रेष्ठले सामाजिक परिचालकहरुलाई प्रदेश नं. १ मा पुन बहाली गरि दक्ष जनशक्ति उपभोग गर्न सुझाउदै सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।
कार्यक्रममा स्वागत गर्दै संस्थाकी श्रीदेवी ढकालले सामाजिक पचिालकहरुले हालसम्म स्थानीय तहमा खेलेको भूमिकाबारे जानकारी गराएकी थिईन । कार्यक्रमका प्रमुख अतिथि रहेका भण्डारीले जनप्रतिनिधीहरु नहुदा जनता र स्थानीय सरकारलाई जोड्ने काम सामाजिक परिचालकहरुले गरेको बताए ।
पछाडी परेका समुदाय र जनतालाई मुलधारमा ल्याए शासनमा पहुच पु¥याउने, स्थानीय तहलाई पारदर्शी बनाउने र सुशासन कायम गर्ने कार्यमा सामाजिक परिचालकहरुको महत्वपूर्ण भूमिका रहेको सभामुख भण्डारीले बताएका छन् । सामाजिक परिचालकहरुले सामाजिक सहिष्णुता, भातृत्व र सहकार्यको माध्यमबाट समाज रुपान्तरणमा अहम भूमिका रहेको बताउदै उनीहरुको माग प्रति सरकार गम्भीर रहेकोसमेत बताए ।
कार्यक्रममा केन्द्रले सुनसरीबाट प्रतिनिधित्व गर्दे सभामुख जस्तो गरिमामय पदमा पुग्न सफल भएकोमा सभामुख भण्डारीलाई सम्मान समेत गरेका थिए । भण्डारी सुनसरी क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, नेकपा एमाले जिल्ला निर्वाचन समितिका सदस्य गिरीराज अधिकारी, सामाजिक परिचालक आईती तामाङलगायतको उपस्थिति रहेको थियो ।