राजविराज / पहिचानसँग जोडिएका चाड÷पर्वका विदा कटौती गरेको विरोधमा आन्दोलित आदिवासी÷जनजाति संघ/संस्थाहरुले शनिवारदेखि प्रचारात्मक आन्दोलन सुरु गरेका छन् ।
यस अन्तर्गत विचार–गोष्ठी र अन्तरक्रिया लगायतका कार्यक्रम समावेश गरिएको छ । गत चैत्र १४ गतेको मन्त्री परिषद्को वैठकले तमु, सोनाम र ग्याल्वो ल्होसार, उधौली तथा माघे संक्रान्ति पर्वको विदा कटौती गरेको विरोधमा आन्दोलन सुरु भएको हो । आन्दोलित २२ वटा संघ संस्थाहरु एकजुट भएका छन् ।
दश वर्षे सशस्त्र युद्धबाट आदिवासी÷जनजातिहरुले प्राप्त गरेको पहिचान सरकारले खोसेको उनीहरुको आरोप छ । मुलुकका ३५ प्रतिशतभन्दा वढि जनताले मनाउँदै आएका सांस्कृतिक पर्वको सार्वजनिक विदा खारेजी गर्ने गरी भएको निर्णय तत्काल फिर्ता, प्रदेशको नामाकंन गर्दा पहिचान र स्थानिय भाषालाई मान्यता दिनुपर्ने लगायतका उनीहरुले माग गरेका छन् ।
यस्तै काठमाण्डौका नेवार आदिवासीहरुको आदिभुमिमा गैरन्यायिक रुपमा गरिएको सडक विस्तार बन्द गर्नुपर्ने, संविधानको धारा ५६(५) अनुसार राजनैतिक अधिकारसहित विशेष, संरक्षित र स्वायत क्षेत्र गठन गर्नुपर्ने तथा वहिष्कृत, सिमान्तकृत, उत्पीडित वर्गले उठाउँदै आएका सवालहरुलाई सम्वोधन हुने गरी अविलम्व संविधान संशोधन गर्नुपर्ने लगायत ७ बुँदे माग राखेका छन् ।
उनीहरुले यसअघि नै सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई ज्ञापन पत्र पठाई निर्णय सच्याउन माग गरेका छन् ।
मागप्रति राज्य गम्भिर नभए आन्दोलनका थप शसक्त कार्यक्रम सञ्चालन हुने महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ्गले चेतावनी दिएका छन् ।