विराटनगर / नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ को यही वैशाख २२ गते हुने नयाँ कार्यसमितिको निर्वाचनको लागि शुक्रबार ३२ जनाको उम्मेदवारी परेको छ ।
१ नम्बर प्रदेश निर्वाचन समितिमा शुक्रबार भएको उम्मेदवारी दर्ताको क्रममा ३२ जनाकोले  उम्मेदवारी  दिएकाे जनाएकाे छ ।
कोषाध्यमा एक जनाको मात्र उम्मेदवारी परेपछि उक्त पदसहित ८ जना निर्विरोध हुने सम्भावना बढेकाे छ ।  उम्मेदवारको अन्तिम नामावली भने आइतबार प्रकाशित हुने निर्वाचन समितिका संयोजक दीपक दाहालले जानकारी दिए ।
शुक्रबार एकल उम्द्वारी पर्नेमा  कोषाध्यक्षमा प्रेस चौतारीकी उम्मेदवार अम्बिका भण्डारी, महिला सदस्यहरू युनियनकी रेजिना गौतम, चौतारीकी तीलकुमारी शर्मा र प्रेस सेन्टरकी रिता मोक्तान, दलित सदस्यमा चौतारीका सन्तोष रुचाल र अल्पसंख्यकमा युनियनका इकवाल अहम्मद रहेका छन् । यस्तै आदिवासी जनजाति सदस्यहरु गणेश साम्पाङ राई र केशवकुमार लामाकाे पनि एकल उम्मेद्वारी परेकाे छ ।
प्रदेशको अस्थायी राजधानी विराटनगरमा रहेको नेपाल पत्रकार महासंघ मोरङमा उमेदवारी मनोनयन केन्द्र तोकिएको थियो ।
प्रदेश समिति निर्माणका लागि पत्रकारहरुको ठूला संगठन प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले क्न्द्रमा नै सहमित गरेकाे थियाे । ठूला संगठनको सहमति अमान्य रहेको भन्दै संघीय प्रेस फोरम नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार संघ, संघीय पत्रकार युनियन र नेपाल ख्रिस्चियन पत्रकार संघले समान उम्मेदवारी दिने घोषणा गरेका थिए ।
मनोनयन दर्ता गराएका उम्मेदवारहरुमा संयुक्त गठबन्धनबाट अध्यक्षमा चौतारीबाट विक्रम लुईटेल, उपाध्यक्षमा युनियनका सोमनाथ सुवेदी र महासचिवमा प्रेस सेन्टरबाट विवेक गौतम रहेका छन् । यस्तै महिला उपाध्यक्षमा स्मीता निरौला, सचिवमा हरिकुमार राई, समावेशी सचिवमा बुद्धवीर राईलाई संयुक्त प्यानलबाट उठाइएको छ ।

तीन संगठनलाई चुनाैती
यस्तै युनियन, चौतारी र प्रेस सेन्टरको गठबन्धनलाई चुनौति दिन अध्यक्षमा गोपाल देवान, उपाध्यक्षमा विजय खतिवडा, महिला उपाध्यक्षमा मनिता ताम्लिङ, महासचिवमा कमल देवान, सचिव समावेशीमा सन्तवीर लामाले उम्मेदवारी दिएका छन् ।
यस्तै उपाध्यक्षमा भने प्रेस चौतारीको तर्फबाट मिलन के राउतले बाघी उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा राेहितचन्द्र भटटराईले पनि बाघी उम्मेदवारी दिएका छन् ।

संगठन विरुद्ध बागी उमेद्वारी दिनेलाई कारवाही गरिने
शुक्रबार मनोनयन दर्ता पछि तीन वटै संगठनहरुले सयुक्त रुपमा उम्मेद्वार परिचय कार्यक्रम राखेको छ । संगठनका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा भएको परिचय कार्यक्रममा संगठनको निर्णय नपान्ने बागीि हाल्नेहरुलाई संगठनको साधारण सदस्यसमेत नरहने गरि कारवाही गर्ने तीन वटै संगठनका नेताहरुले बताएका थिए । कार्यक्रममा प्रेस युनियनका महासचिव, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लिलाराज भटराई, प्रेस सेन्टरका प्रदेश संयोजक राजन केडी, बरिष्ठ पत्रकार कौशल चेम्जोङ, प्रेस युनियनका प्रदेश संयोजक लिलानाथ घिमिरेलगायतका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो ।
महासंघको विधान अनुसार प्रदेश समितिको अध्यक्ष १, उपाध्यक्ष खुल्ला १, महिला १, महासचिव १, सचिव खुल्ला १, समावेशी १, कोषाध्यक्ष १, खुल्ला सदस्य ५, महिला सदस्य ३, दलित १, आदिवासी जनजाति २, मधेशी २ र अल्पसंख्यक १ गरी २१ सदीयीय समिति निर्माण हुने उल्लेख छ ।