सुनसरी / नेपाल तरुण दलका युवाहरुले चलाएको मोटरसाईकलले ठक्कर दिँदा सुनसरीको अमाहीबेल्हामा एक बालक घाईते भएका छन् । हिजो दिउसो करिब ४ बजेतिर साविक बर्जु ५ हाल अमाहिबेला ९ पण्डित टोलमा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेद्वार विजयकुमार गच्छदारको चुनाबी कार्यक्रममा गएका युवाहरुले कुदाएको मोटरसाईकलको ठक्करबाट स्थानीय पण्डित टोल बस्ने जयनारायण पण्डीतको ६ वर्षिय बालक घाईते भएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार मादक पदार्थ सेवन गरेका तरुण दलका कार्यकर्ताले कुदाएको मोटरसाईकलले बालकलाई ठक्कर दिएको हो । उनको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय चिमडीका सई पाण्डब राजवंशीले जानकारी दिए । उनले कसले घाईते बनायो खुलाउन चाहेनन् । ‘सामान्य कुरा हो, केहि भएको हैन ।’ उनले भने ।

स्थानीय टोलमा खेल्दै गरेका बालकलाई मोटरसाईकलले ठक्कर दिएको स्थानीयले बताएका छन् । बालक घाईते भएपछि ती युवाहरुले अभिभावक र स्थानीय महिलाहरुलाई बच्चा बाटोमा छाडेको भन्दै गाली गलौज गर्दै उपचार गर्नु भनी १ हजार दिएर गएको स्थानीयको आरोप छ । इप्रका चिमडीमा सई राजवंशीले मोटरसाईकलको ठक्करबाट नभई कच्ची बाटोमा मोटरसाईकलको टायरले ढुङ्गा उछिट्याएर बच्चालाई लागेको जिकिर गरे । तर, स्थानीय महिला र प्रत्यक्षदर्शीले भने, मोटरसाइकलले नै ठक्कर दिएको र युवाहरुले तथानाम गाली समेत गरेको जिकिर गरेका छन् । ‘उपचारका लागि अस्पताल लैजाउँ भन्दा गाली गर्दै ‘केहि भएको छैन, किन अस्पताल लानु ?’ भन्दै मलमपट्टि गर्न भनेर बालकका बाबु जयनारायणलाई एक हजार थमाई दिएको स्थानीय देवचन्द मेहताले बताए ।

इप्रकाका सईले बच्चालाई सामान्य चोटपटक लागेको भन्दै प्रहरी कै भ्यानमा लगेर स्थानीय मेडिकलमा प्राथमिक उपचार गराएर पठाएको बताए । ‘मोटरसाईकलले हानेको हैन, ढुङ्गाले लागेछ, उहाँहरुले उपचार गर्नु भनेर एक हजार पनि दिनुभको छ, हामीले नै भ्यानमा हालेर मेडिकलमा लगेर उपचार गरिदियौं ।’ उनले भने । स्थानीय भने, एउटा बालकलाई मोटरसाईकलले ठक्कर दिँदा राम्ररी उपचार गर्नुको सट्टा गाली गलौज गर्दै एक हजार दिएर घटना सामसुम पार्न खोजेको भन्दै आक्रोसित भएका छन् । उनीहरुले स्थानीय प्रहरीले पनि सहयोग नगरेको बताए । ‘प्रहरीले के भएको हो ? खोजी गरेर पिडितलाई न्याय दिनुपर्नेमा उल्टै हप्की दप्की गर्दै उनीहरुकै पक्षमा कुरा गर्यो ।’ एक स्थानीयले भने । स्थानीयले इप्रका चिमडीका सई राजबंशीले यस अघिपनि गाउँमा कुनै वादविवाद पर्दा स्थानीय पिडितको पक्षमा भन्दा पनि पावर र पैसामा काम गर्ने गरेको आरोप लगाए ।