विराटनगर / ६ वर्षीय छोरालाई आइरनले डामेर अमानवीय यातना दिएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–३ की सरला पौडेल काफ्लेलाई पक्राउ गरेको छ । उनीविरुद्ध बुधबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

सरलाले छोरा सवनमलाई मंगलबार बिहान आइरनले डामेर गम्भीर घाइते बनाएकी थिइन् । उनको विराट नर्सिङ होममा उपचार भएको छ । अस्पतालले बुधबार डिस्चार्च गरेपछि उनलाई बुबा विक्रम काफ्लेले घर लिएर गएको छिमेकी दीपक चापागाईंले बताए ।

मोरङका एसपी अरुण बिसीका अनुसार मंगलबार बिहान पढ्न नमानेको भन्दै सरलाले छोरालाई आइरनले डामेर चरम यातना दिएकी थिइन् । घाइते छोरालाई उपचार गराउनुको साटो उनले उल्टै विद्यालय पठाएकी थिइन् ।

सवनम घाइते भएको उनको विद्यालय अन्नपूर्ण बोर्डिङ स्कुलका शिक्षकले पत्ता लगाएका थिए । बच्चा इन्तु न चिन्तु अवस्थामा देखेपछि उनीहरूले सोधपुछ गरेका थिए । बच्चाको कपडा खोलेर हेर्दा शरीरभरि पोलेको डाम देखेपछि विद्यालयले नै प्रहरी र अन्य अभिभावक बोलाएको थियो । प्रहरीले आमा सरलालाई विद्यालयबाटै पक्राउ गरेको छिमेकी चापागाईंले बताए ।

विद्यालयले नै बाबु विक्रमलाई खबर गरेको थियो । उनी काठमाडौं बस्दै आएका छन् । उनको श्रीमती सरलासँग राम्रो सम्बन्ध छैन । उनीहरूको सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ । सरलाले सम्बन्धविच्छेद दिन नमानेका कारण मुद्दा लम्बिएको छिमेकी दीपक चापागाईंले बताए ।

विराटनगर घरमा आमा–छोरा मात्र बस्दै आएका थिए । विक्रमले छोरालाई आफूसँगै लैजान चाहे पनि सरलाले आफ्नो अधिकार भएको भन्दै दिएकी थिइनन् । छिमेकी चापागाईंका अनुसार सरलाले यसअघि पनि पटकपटक छोरा सवनमलाई पिट्ने गरेकी थिइन् ।

नियमित यातनाले बच्चालाई मानसिक आघात परेको चापागाईंले बताए । राम्रो काउन्सिलिङ नभए बच्चाको भविष्य बिग्रने उनले चिन्ता व्यक्त गरे । चापागाईंका अनुसार सरलाले अर्थशास्त्रमा एमए गरेकी छिन् ।

सम्बन्धविच्छेदको प्रक्रियामा आमा–बुबा

सवनमका बुबा विक्रम र आमा सरलाबीच अदालतमा सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ । उनीहरूको सात वर्ष पहिला विवाह भएको थियो । सम्बन्धविच्छेदको प्रक्रिया सुरु भएपछि एक मात्र छोरा सवनम आमासँग थिए । विक्रम भने आफ्ना बाबुआमासहित काठमाडौं बस्दै आएका छन् ।

बुवा विक्रमले दिए प्रहरीमा जाहेरी

विद्यालयले सवनम गम्भीर घाइते भएको जानकारी दिएपछि काठमाडौं बस्दै आएका बुवा विक्रम मंगलबार साँझकै फ्लाइटबाट विराटनगर आए । उनले नै प्रहरीमा जाहेरी दिएका हुन् । जाहेरीमा उनले चरम यातना दिएर छोराको हत्या प्रयास गरिएको उल्लेख गरेका छन् । नयाँ पत्रिका दैनिक