काठमाडाै / प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले स्वेच्छिक अवकाश नदिने भनिरहेका बेला मन्त्रालयले भने स्वेच्छिक अवकाशको कामलाई अगाडि बढाएको छ ।
मन्त्रालयले स्वेच्छिक अवकाश दिने कर्मचारीको नामावलीको अन्तिम रुप तयार गरेको छ । माथिबाट स्वेच्छिक अवकाशको काम रोक्नू भन्ने आदेश नआएकाले अवकाशको कामकारबाही भइरहेको स्वेच्छिक अवकाश एकाइका प्रमुख धर्मराज रोकायले बताउनुभयो । उहाँका अनुसार अहिले सबै जिल्लाबाट अवकाशका लागि निवेदन दिने कर्मचारीको नामावली विवरण तयार गरिएको छ । हालसम्म नौ हजार ६५६ जनाले अवकाशका लागि निवेदन दिएका छन् । यो संख्या काठमाडौमा रहेका कार्यालय, विभागसमेतको हो ।
सबैभन्दा बढी काठमाडौँबाट अवकाशका लागि निवेदन दर्ता भएको उपसचिव रोकायले बताउनुभयो । काठमाडौँबाट एक हजार ३१५, कास्कीबाट ३२८ र मोरङबाट ३१७ जनाले अवकाशका लागि निवेदन दिएका छन् । सबैभन्दा कम पूर्वी रुकुम जिल्लाबाट दुई जनाले मात्र अवकाशका लागि निवेदन दिएका छन् । पूर्वी रुकुम जिल्लाबाट सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णबहादुर पुन र सहायक जिल्ला वन अधिकृत झंकरबहादुर मगरले निवेदन दिनुभएको छ ।
यसैगरी मन्त्रालयबाट ३९४ र संवैधानिका निकायबाट १७२ जनाले अवकाशका लागि निवेदन दिएका छन् । एकाइ प्रमुख रोकायले सरकारले आदेश दिएमा दुई महिनाभित्र निवेदन दिएका कर्मचारीमाथि छानविन गरी अवकाश दिन सकिने बताए ।
सरकारले निजामती र स्वास्थ्य सेवाका संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशको व्यवस्था ल्याएको थियो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीसवर्षीय सेवावधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो ।
१८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत
संघीय मामिला मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई आज खटाएको छ । मन्त्रालयले खटाएकामध्ये १८ जना गाउंँपालिकामा र ११ जना नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई जाने मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजङ्ग थापाले जानकारी दिनुभयो । यसअघि ती गाउँपालिकामा निमित्तका रुपमा प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेका थिए ।
गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । खटाइएका प्रमुख प्रशासकीय अधिकृत जाजरकोट, भोजपुर ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुपाञ्चोक, बझाङ, डोटी, अछामलगायतका छन् ।
खटाइएका कर्मचारी मन्त्रालयबाट पत्र लिई मङ्गलबारदेखि नै सम्बन्धित स्थानीय तहमा जानेछन् । शाखा अधिकृत थापाका अनुसार अझै ४० गाउँपालिकामा निमित्त प्रशासकीय प्रमुखले काम चलाइरहेका छन् । मुलुकभर २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । अपुग कर्मचारीलाई विस्तारै पठाइने छ । मन्त्रालयले कर्मचारी समायोजन नहुँदासम्मका लागि आन्तरिक व्यवस्थापनका लागिस्थानीय तहमा कर्मचारी खटाउँदै छ ।