शिक्षा जीवन परिवर्तन गर्ने महŒवपूर्ण माध्यम हो । शिक्षाले केवल किताबका विषयवस्तु सिकाउने मात्र होइन, व्यक्तिको सोच, व्यवहार, क्षमता, चरित्र र दृष्टिकोणको विकास पनि गराउँछ । शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी बनाउन शिक्षक र विद्यार्थीबीचको सम्बन्ध महŒवपूर्ण हुन्छ । शिक्षकले विद्यार्थीलाई कक्षामा पढाउने मात्र नभई उनीहरूको भावना, रुचि, समस्या, क्षमता र आवश्यकतासँग अन्तरघुलन हुनु जरुरी हुन्छ । यसका लागि शिक्षक र विद्यार्थीबीच निरन्तर, सकारात्मक र आत्मीय संवाद पहिलो सर्त हो । त्यसैले विद्यार्थीमैत्री शिक्षकको व्यवहारको सुरुवात नै संवादबाट गरिनु पर्दछ ।
संवाद भन्नाले शिक्षकले मात्र बोल्ने र विद्यार्थीले सुन्ने प्रक्रिया पक्कै होइन । शिक्षक र विद्यार्थी दुवैले आ–आफ्ना विचार, भावना, जिज्ञासा, समस्या र अनुभव खुलेर आदान–प्रदान गर्ने प्रक्रिया नै संवाद हो । विद्यार्थीले आफूलाई लागेको कुरा विना डर, धाक शिक्षकसमक्ष राख्न सक्ने वातावरण भयो भने सिकाइ अझ प्रभावकारी हुन्छ । शिक्षकले विद्यार्थीको कुरा ध्यानपूर्वक सुन्ने, बुझ्ने र उचित प्रतिक्रिया दिने बानी बसाल्नु पर्छ । यसले शिक्षकप्रति विद्यार्थीको विश्वास बढाउँछ र कक्षाकोठालाई सुरक्षित तथा रमाइलो सिकाइस्थल बनाउन सहयोग गर्दछ ।
ब्राजिलका प्रसिद्ध शिक्षाविद् पाउलो फ्रेरेले शिक्षामा संवादलाई अत्यन्त महŒवपूर्ण मानेका छन् । उनका अनुसार शिक्षक मात्र ज्ञानको मालिक र विद्यार्थी मात्र ज्ञान ग्रहण गर्ने व्यक्ति हुनु हुँदैन । शिक्षक र विद्यार्थीबीच संवाद र सहकार्यबाट ज्ञान निर्माण हुनुपर्छ । फ्रेरेले शिक्षक र विद्यार्थी दुवै एक–अर्काबाट सिक्ने प्रक्रियामा सहभागी हुने धारणा अघि सारेका छन् ।
विद्यार्थीमैत्री शिक्षकले सबैभन्दा पहिले प्रत्येक विद्यार्थीलाई समान र सम्मानजनक व्यवहार गर्नुपर्दछ । विद्यार्थीको जात, धर्म, भाषा, लिङ्ग, आर्थिक अवस्था, पारिवारिक पृष्ठभूमि वा शैक्षिक क्षमताका आधारमा भेदभाव गरिनु हुँदैन । कक्षामा छिटो सिक्ने विद्यार्थी मात्र होइन, सिक्न केही समय लाग्ने विद्यार्थीलाई पनि उत्तिकै अवसर दिनुपर्दछ । अर्थात् उनीहरूलाई पनि सिकाइमा डो¥याएर लैजानु पर्दछ । कमजोर विद्यार्थीलाई हेप्नु वा उनीहरूको अगाडि अपमान गर्नुको सट्टा थप सहयोग र प्रोत्साहन दिनुपर्छ । शिक्षकको सानो प्रोत्साहनले पनि विद्यार्थीमा ठूलो आत्मविश्वास पैदा गर्न सक्छ ।
विद्यार्थीले प्रश्न सोध्दा शिक्षकले रिसाउनु हुँदैन । प्रश्न विद्यार्थीको जिज्ञासा र सिक्ने इच्छाको सङ्केत हो । कहिलेकाहीँ विद्यार्थीले सरल वा दोहोरिएको प्रश्न पनि सोध्न सक्छन् । यस्तो अवस्थामा शिक्षकले धैर्यपूर्वक उत्तर दिनुपर्छ । कुनै प्रश्नको उत्तर तत्काल थाहा नभएमा पनि विद्यार्थीलाई गलत जानकारी दिनुभन्दा यस विषयमा खोजेर अर्को पटक छलफल गरौँला भन्न सकिन्छ । यसरी शिक्षकले आफू पनि निरन्तर सिक्ने व्यक्ति भएको उदाहरण प्रस्तुत गर्न सक्छन् ।
मानवतावादी मनोवैज्ञानिक कार्ल रोजर्सले भनेका छन्, “विद्यार्थीमैत्री शिक्षक भनेको डर देखाएर पढाउने शिक्षक होइनस विद्यार्थीको कुरा सुन्ने, उसको भावनालाई बुझ्ने, प्रश्न गर्न प्रेरित गर्ने, गल्तीलाई सिकाइको अवसर मान्ने, समान व्यवहार गर्ने, अनुभवबाट सिक्न अवसर दिने र संवाद तथा सहकार्यबाट ज्ञान निर्माण गर्ने शिक्षक हो ।”
वास्तावमा विद्यार्थीमैत्री शिक्षकले डर होइन, विश्वासको वातावरण निर्माण गर्नुपर्छ । पहिले विद्यार्थीहरू शिक्षकसँग डराएर अनुशासनमा बस्ने परम्परा धेरै ठाउँमा देखिन्थ्यो । तर आधुनिक शिक्षाले डर र दण्डभन्दा प्रेम, प्रेरणा, सहभागिता र सकारात्मक अनुशासनलाई महŒव दिन्छ । विद्यार्थीले गल्ती गर्दा गाली गर्ने, कुट्ने वा सार्वजनिक रूपमा अपमान गर्ने व्यवहार विद्यार्थीमैत्री हुन सक्दैन । गल्तीलाई सिकाइको अवसरका रूपमा लिनुपर्छ । शिक्षकले गल्ती किन भयो भनेर बुझेर सुधारका लागि उचित सुझाव दिनुपर्दछ ।
शिक्षकले विद्यार्थीको कुरा धैर्यपूर्वक सुन्ने बानी विकास गर्नुपर्छ । विद्यार्थीको व्यवहारमा परिवर्तन आएको छ, पढाइमा रुचि घटेको छ वा ऊ कुनै समस्यामा देखिन्छ भने त्यसको कारण बुझ्ने प्रयास गर्नुपर्छ । कहिलेकाहीँ विद्यार्थीको कमजोर शैक्षिक प्रदर्शनको पछाडि पारिवारिक, सामाजिक वा व्यक्तिगत समस्या पनि हुनसक्छ । शिक्षकले तुरुन्तै “तिमी पढ्दैनौ” भनेर निष्कर्ष निकाल्नुको सट्टा विद्यार्थीसँग आत्मीय रूपमा कुरा गर्नुपर्छ । यस्तो व्यवहारले विद्यार्थीलाई आफू महŒवपूर्ण छु भन्ने अनुभूति गराउँछ ।
विद्यार्थीमैत्री शिक्षकले कक्षामा सहभागितामूलक शिक्षण विधि अपनाउनु पर्छ । शिक्षकले मात्र व्याख्यान दिने र विद्यार्थीले चुपचाप सुन्ने पद्धतिले सबै विद्यार्थीलाई सक्रिय बनाउन सकिँदैन । प्रश्नोत्तर, समूह छलफल, परियोजना कार्य, प्रस्तुति, प्रयोग, खेल तथा विभिन्न सिर्जनात्मक गतिविधिबाट विद्यार्थीलाई सिकाइमा सहभागी गराउन सकिन्छ । यसले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता, सहकार्य गर्ने बानी र समस्या समाधान गर्ने क्षमता विकास गर्छ । शिक्षकले विद्यार्थीलाई आफ्नो विचार राख्ने पर्याप्त अवसर पनि दिनुपर्दछ । आफ्ना कुरा राख्ने, बोर्डमा लेख्न लगाउने, पुस्तकमा भएका कुरा भन्न लगाउने आदि विधि प्रयोग गरेर विद्यार्थीलाई सक्रिय बनाउनु पर्दछ ।
विद्यार्थीमैत्री व्यवहारमा प्रतिक्रिया र मूल्याङ्कनको भूमिका पनि महŒवपूर्ण हुन्छ । विद्यार्थीले गरेको काममा केवल नम्बर दिनेभन्दा उनीहरूको राम्रो पक्ष र सुधार गर्नुपर्ने पक्षबारे स्पष्ट प्रतिक्रिया दिनुपर्छ । “तिमीले राम्रो गरेका छौ, अब यस भागमा अझ ध्यान देऊ” जस्ता सकारात्मक प्रतिक्रियाले विद्यार्थीलाई सुधारका लागि प्रेरित गर्छ । मूल्याङ्कन विद्यार्थीलाई डराउने माध्यम नभई आफ्नो कमजोरी पहिचान गरेर अगाडि बढ्ने अवसर बन्नु पर्दछ । कुनै पनि परीक्षा विद्यार्थीका लागि हाउगुजीको रूपमा सिर्जना गरिनु हुँदैन । यसलाई थप सुधारको अवसरका रूपमा व्याख्या र निरन्तरको रूपमा लिनु पर्दछ ।
विद्यार्थीहरूको जिम्मेवारी
त्यसो त विद्यार्थीहरूको पनि सिकाइमा उत्तिकै जिम्मेवारी रहेको हुन्छ । विद्यार्थीमैत्री कक्षाकोठा निर्माण गर्ने जिम्मेवारी शिक्षकको मात्र होइन । यसमा विद्यार्थीहरूको पनि महŒवपूर्ण जिम्मेवारी हुन्छ । विद्यार्थीले शिक्षकप्रति सम्मान र आदरको भावना राख्नुपर्छ । शिक्षकले आफ्ना लागि गरेको मिहिनेत र मार्गदर्शनको कदर गर्न भुल्नु हुँदैन । शिक्षकसँग असहमति भएमा पनि सभ्य भाषामा आफ्नो विचार राख्नुपर्छ । कक्षामा शिक्षक बोलिरहेको बेला ध्यान दिएर सुन्ने, आवश्यक समयमा प्रश्न सोध्ने र अरू साथीले बोल्दा उसको विचारको सम्मान गर्ने बानी विद्यार्थीमा हुनुपर्दछ । प्रभावकारी सिकाइका लािग यस्तो किसिमको वातावरण कक्षाकोठामा अपरिहार्य छ ।
विद्यार्थीको अर्को महŒवपूर्ण जिम्मेवारी नियमितता र अनुशासन हो । विद्यालयमा समयमै उपस्थित हुनु, आवश्यक शैक्षिक सामग्री लिएर आउनु, गृहकार्य तथा परियोजना कार्य समयमै पूरा गर्नु र विद्यालयका नियम पालना गर्नु विद्यार्थीको दायित्व हो । अनुशासन भनेको शिक्षकसँग डराउनु होइनस आफ्नो जिम्मेवारी आफै बुझेर पूरा गर्नु हो । विद्यार्थीमा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला तथा विद्यालयका अन्य सम्पत्तिको संरक्षण गर्ने दायित्व पनि उत्तिकै रहन्छ ।
विद्यार्थीले आफ्ना समस्या, जिज्ञासा र भावनाहरू शिक्षकसँग खुलेर संवाद गर्नुपर्छ । समस्या लुकाएर राख्दा त्यसले ठूलो रूप लिन सक्छ । पढाइमा कठिनाइ भएमा, कुनै विषय नबुझेमा वा साथीहरूसँग समस्या भएमा विद्यार्थीले उपयुक्त शिक्षकसँग कुरा गर्नुपर्छ । यसरी समस्या समाधानका लागि संवादको बाटो रोज्दा विद्यार्थीमा आत्मविश्वास र समस्या समाधान गर्ने क्षमता बढ्छ ।
विद्यार्थीले आफ्ना साथीहरूप्रति पनि जिम्मेवार व्यवहार गर्नु अर्को जिम्मेवारी हो । कसैलाई कमजोर, फरक वा असक्षम भनेर हेप्नु हुँदैन । साथीको विचार, भाषा, क्षमता र पृष्ठभूमिको सम्मान गर्नुपर्छ । समूहमा काम गर्दा सबैलाई अवसर दिनुपर्दछ । एकअर्कालाई सहयोग गर्ने, आवश्यक पर्दा सिकाउने र समस्या पर्दा साथ दिने संस्कार विकास गरिनुपर्दछ । यसले विद्यालयमा सहयोगी र मैत्रीपूर्ण वातावरण निर्माण गर्न मद्दत पु¥याउँछ ।
आजको समयमा शिक्षक केवल ज्ञान दिने व्यक्ति मात्र होइन, मार्गदर्शक, सहजकर्ता र प्रेरणाको स्रोत पनि हो । त्यसैले शिक्षकले विद्यार्थीको जिज्ञासा र सिर्जनशीलतालाई दबाउनु हुँदैन । विद्यार्थीले नयाँ विचार राख्दा त्यसलाई सुन्नुपर्छ । विद्यार्थीलाई पाठ्यपुस्तकमा भएका कुरामात्र कण्ठ गर्न लगाउनुको सट्टा “किन रु”, “कसरी रु” र “यदि यस्तो भयो भने के हुन्छ रु” जस्ता प्रश्न गर्न प्रेरित गर्नुपर्छ । यसले विद्यार्थीमा आलोचनात्मक सोच र सिर्जनात्मक क्षमताको विकास गर्छ ।
त्यसैगरी शिक्षकले आफ्नो व्यवहारबाट पनि विद्यार्थीलाई सिकाउनु पर्छ । शिक्षकले आफै समयको पालना गर्छन्, अरूको कुरा सम्मानपूर्वक सुन्छन्, गल्ती स्वीकार गर्छन् र सबैसँग समान व्यवहार गर्छन् भने विद्यार्थीले पनि त्यही व्यवहार सिक्नेछन् । शिक्षकको व्यवहार विद्यार्थीका लागि प्रत्यक्ष उदाहरण बन्न सक्छ । त्यसैले विद्यार्थीमैत्री शिक्षकले आफ्नो बोली, व्यवहार र निर्णयमा संवेदनशीलता तथा जिम्मेवारी देखाउनु अपरिहार्य छ । अन्ततः, विद्यार्थीमैत्री शिक्षा शिक्षक र विद्यार्थीबीचको सहकार्यबाट सम्भव हुन्छ । यसको आधार संवाद, विश्वास, सम्मान, समानता र सहकार्य मात्र हुनेछ । शिक्षकले विद्यार्थीको कुरा सुन्ने, उनीहरूको भावना बुझ्ने, प्रश्नलाई सम्मान गर्ने, गल्तीबाट सिक्ने अवसर दिने र सकारात्मक वातावरण सिर्जना गर्ने व्यवहार अपनाउनु पर्छ । अर्कोतर्फ, विद्यार्थीले शिक्षकको सम्मान गर्ने, नियमित र अनुशासित हुने, आफ्नो जिम्मेवारी पूरा गर्ने, साथीहरूको विचारको सम्मान गर्ने र आफ्ना समस्या तथा जिज्ञासा खुलेर राख्ने बानी विकास गर्नु पर्दछ ।
यसरी शिक्षक र विद्यार्थीबीच संवादको सम्बन्ध बलियो भयो भने कक्षाकोठा केवल पढ्ने ठाउँ मात्र नभई सिक्ने, सोच्ने, प्रश्न गर्ने, सिर्जना गर्ने र व्यक्तित्व विकास गर्ने स्थान बन्न सक्छ । शिक्षकको आत्मीय व्यवहार र विद्यार्थीको जिम्मेवारपूर्ण सहभागिताले शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउँछ । त्यसैले विद्यार्थीमैत्री विद्यालय निर्माण गर्न प्रत्येक शिक्षकले “म विद्यार्थीलाई के सिकाउँदै छु ” भन्ने प्रश्नसँगै “म विद्यार्थीलाई कसरी बुझ्दै र सुन्दै छु ” भन्ने प्रश्न पनि आफैलाई सोध्नुपर्दछ । संवादबाट सुरु हुने यही सकारात्मक सम्बन्धले असल विद्यार्थी, असल शिक्षक र अन्ततः असल समाज निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने कुरामा दुईमत छैन ।


















