धरान ।  नियमित ध्यान, योग र सकारात्मक जीवनशैलीमार्फत शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्ने प्रतिबद्धता जनाउँदै नेपाल हृदय रोग निवारण प्रतिष्ठान सुनसरीले आयोजना गरेको ‘पूर्ण आरोग्यका लागि ऊर्जा ध्यान शिविर’ मंगलबार सम्पन्न भएको छ।

विश्व मुटु रोग दिवसको अवसरमा प्रतिष्ठानले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत असोज ७ गतेदेखि सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा सञ्चालन गरिएको शिविरमा सहभागीहरूले ध्यान तथा योगलाई दैनिक जीवनको अभ्यास बनाउने प्रतिबद्धता जनाएका हुन्। समापन कार्यक्रममा सहभागीका तर्फबाट मन्तव्य राख्दै पवन झाले नियमित ध्यान र योगले आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउनु भयो । यस्तै ज्ञानशोभा शाक्यले पनि शिविरबाट प्राप्त अभ्यासलाई निरन्तरता दिँदै स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

yasoda

समापन कार्यक्रमकाी प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तथा योग प्रशिक्षक यशोदा कायस्थाले स्वस्थ जीवनका लागि औषधि र उपचारसँगै मानिसको जीवनशैलीमा पनि परिवर्तन आवश्यक रहेको बताउनु भयो । उहाँले ध्यान, योग र सकारात्मक सोचलाई दैनिक जीवनसँग जोड्न सके शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिने बताउनु भयो ।

कायस्थाले योग तथा ध्यानलाई नियमित अभ्यासका रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै प्रतिष्ठानले सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी अभियानले समुदायमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले आगामी कात्तिक १२ देखि १८ गतेसम्म विराटनगरमा  ‘चक्र विज्ञान योग शिविर’ सञ्चालन हुने जानकारीसमेत दिनु भयो । उहाँका अनुसार उक्त शिविरमा भानु एलपी शर्माले प्रशिक्षण दिनुहुने छ । 

yog1

सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गोपाल श्रेष्ठले स्वस्थ नागरिक र स्वस्थ समाज निर्माणका लागि स्वास्थ्यसम्बन्धी सचेतना र अभ्यासलाई समुदायस्तरमा विस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले व्यवसाय तथा सामाजिक गतिविधिमा व्यस्त मानिसका लागि योग र ध्यान मानसिक शान्ति तथा शारीरिक स्वास्थ्य कायम गर्ने उपयोगी माध्यम बन्न सक्ने बताउदैं आफ नियमित योग अभ्यासमा आउने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष कला थापाले सहभागीलाई स्वागत गर्दै स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनु भयो । उहाँले मुटु रोगको जोखिम न्यूनीकरणका लागि खानपान, व्यायाम, ध्यान र जीवनशैलीमा सुधार आवश्यक रहेको उल्लेख गर्नु भयो । 

शिविरमा जीवन विज्ञान प्रयोगशाला शिक्षावृद् तथा केन्द्रीय सहसंयोजक बालिका भट्टराई, जीवन विज्ञान प्रयोगशाला सुनसरीका संयोजक तीर्थ घिमिरे र प्रशिक्षक ओमकुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए। उनीहरूले ध्यान, योग, श्वासप्रश्वास तथा सकारात्मक सोचसँग सम्बन्धित अभ्यास गराएका थिए। प्रशिक्षक बालिका भट्टराईले चक्र विज्ञानका बारेमा सहभागीहरुलाई जानकारीसमेत गराउनु भएको थियो । 

kala

प्रतिष्ठानका अध्यक्ष मुकेश अग्रवालले शिविरको समापन गर्दै स्वास्थ्यलाई उपचारमा मात्र सीमित नराखी रोग लाग्न नदिनेतर्फ पनि समुदाय केन्द्रित कार्यक्रम आवश्यक रहेको बताए। उनले मुटु रोगको जोखिम न्यूनीकरणका लागि जनचेतना, नियमित व्यायाम, सन्तुलित खानपान र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान सुनसरीले सेप्टेम्बर २९ मा मनाइने विश्व मुटु रोग दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको हो। सोही कार्यक्रमअन्तर्गत पूर्ण आरोग्यका लागि ऊर्जा ध्यान शिविर आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रम प्रतिष्ठानका सहकोषाध्यक्ष देवेन्द्र कार्कीले सञ्चालन गर्नु भएको थियो ।