धरान /  ९० दशकका लोकप्रिय गीत–सङ्गीतको सम्झना गराउँदै धरानमा ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा शनिबार साँझ आयोजित कार्यक्रममा ९० दशकमा लोकप्रिय रहेका गीत प्रस्तुत गरिएका थिए । राति ११ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा पुराना गीत सुन्न तथा कलाकारको प्रस्तुति हेर्न उल्लेख्य दर्शकको उपस्थिति थियो ।

कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले ‘बिर्सिएका यादहरू’, ‘म सधैँलाई’, ‘घुम्दै आउनू धरान बजार’, ‘चिपुगुच्चा’ लगायतका गीत प्रस्तुत गर्नुभएको थियो । उहाँका गीतमा दर्शकले सँगसँगै गाएर तथा नाचेर साथ दिएका थिए ।

त्यस्तै जेलर्स ब्यान्डका मनोज मोतेले ‘टाढा’, ‘जाने’, ‘हाम्रो जीवन’ र ‘भेडेटार’ लगायतका गीत प्रस्तुत गर्नुभएको थियो । रोहित मास्केले ‘दिउँला त्यो जवानी’, ‘मेरी मायालु’, ‘चिसो चिसो’ र ‘मर्छु कि क्या हो’ लगायतका गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो ।

ओझेल ब्यान्डका दिलु राईले ‘माछी पर्यो’, ‘पूर्णिमाको जुनेली रात’ लगायतका गीत प्रस्तुत गर्नुभएको थियो भने उमेरले ‘नौ डाँडा काटेछ’ लगायतका गीत प्रस्तुत गर्नुभएको थियो । कलाकारका प्रस्तुतिमा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए ।

कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामालाई लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, उपाध्यक्ष हेम सुब्बा, सचिव कृष्णराज श्रेष्ठ, वरिष्ठ सङ्गीतकर्मी रोशन शर्मा तथा कलाकार मनोज मोते, रोहित मास्के र दिलु राईले संयुक्त रूपमा उहाँलाई खादा तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

यसैगरी लामाले आफ्ना पुराना सहकर्मी तथा जेलर्स ब्यान्डका गायक मनोज मोतेलाई ट्रफी र नगदसहित सम्मान गर्नुभएको थियो । मोतेको सङ्गीत क्षेत्रमा योगदानको कदर गर्दै व्यक्तिगत रूपमा सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मानपछि सञ्जीव लामा र मनोज मोतेले संयुक्त रूपमा ‘मुसु मुसु हाँसी देऊ’ गीत प्रस्तुत गर्नुभएको थियो । लामो समयपछि एउटै मञ्चमा दुई पुराना सहकर्मी कलाकारको संयुक्त प्रस्तुति हुँदा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए । यही प्रस्तुतिसँगै कार्यक्रम समापन भएको थियो । कार्यक्रमको सञ्चालन गोविन्द राजभण्डारीले गर्नुभएको थियो ।

९० दशकका लोकप्रिय गीत, कलाकार र ब्यान्डलाई पुनः दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । कार्यक्रमले पुरानो पुस्ताको सांगीतिक सम्झनालाई ताजा गराउनुका साथै नयाँ पुस्तालाई समेत त्यस समयको सङ्गीतसँग जोड्ने प्रयास गरेको आयोजकको भनाइ छ ।

आयोजकका अनुसार ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’पछि पूर्वी नेपालका विभिन्न सहरमा समेत यस्तै सांगीतिक कार्यक्रम तथा टुर आयोजना गर्ने तयारी भइरहेको छ । ९० दशकका लोकप्रिय गीत, कलाकार र ब्यान्डलाई समेटेर नयाँ पुस्तामाझ पुराना सङ्गीत पुर्‍याउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

concert