इटहरी / सीप विकासका कार्यक्रमलाई वास्तविक रोजगारी र उत्पादनसँग जोड्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सीप तथा तालिमका लागि राज्यले लगानी गरे पनि श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन हुन नसक्दा युवाले रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सरकार, निजी क्षेत्र र तालिम प्रदायकबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ ।
इटहरीमा बुधबारदेखि सुरु भएको सातदिने सीप तथा रोजगार मेला २०८३ को उद्घाटन गर्दै सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले युवालाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी सीपयुक्त, उत्पादनशील तथा रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले सीपलाई रोजगारीमा रूपान्तरण गर्न ढिलाइ गर्न नहुने बताउँदै रोजगारीबाट मुलुकको अर्थतन्त्रको आधार बलियो हुने धारणा व्यक्त गर्नुभयो । आन्तरिक श्रम बजारको माग र उपलब्ध जनशक्तिको सीपबीच पर्याप्त तालमेल हुन नसक्दा युवाले रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय र सहकार्य भएमा सीप विकास, उद्योग स्थापना तथा रोजगारी सिर्जनामा थप उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो ।
सीप तथा तालिमका नाममा राज्यकोषबाट बर्सेनि ठूलो रकम खर्च भए पनि त्यसबाट वास्तविक रोजगारी सिर्जना गर्ने सीप प्राप्त हुन नसकेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले निजी क्षेत्रको सम्भावनालाई उपयोग गर्न उपयुक्त नीति, कानुनी तथा व्यवस्थापकीय व्यवस्था आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारले साना तथा मझौला उद्यम सञ्चालनका लागि सहुलियतपूर्ण तथा न्यूनतम धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले स्वदेशी उत्पादन बढाएर आन्तरिक बजारसँगै छिमेकी मुलुकका बजारको सम्भावना उपयोग गर्नुपर्ने बताउनुभयो । पर्यटन र घरेलु उत्पादनलाई जोडेर स्थानीयस्तरमै रोजगारीका अवसर विस्तार गर्न सकिने उहाँले बताउनुभयो ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । युवालाई सीप, रोजगारी र तालिमका अवसरसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको उल्लेख गर्दै उहाँले तालिमलाई प्रमाणपत्र प्राप्त गर्ने माध्यममा मात्र सीमित नगर्न आग्रह गर्नुभयो ।
तालिमबाट प्राप्त सीपले रोजगारीको बाटो खोल्यो वा खोलेन तथा रोजगारीबाट जीवनयापन गर्न पुग्ने पारिश्रमिक र उन्नतिको अवसर प्राप्त भयो वा भएन भन्ने विषयलाई सरकारले महत्त्वका साथ हेर्नुपर्ने उहाँले बताउनुभयो । शिक्षा, रोजगारी वा तालिममा संलग्न नभएका युवाको सङ्ख्या घटाउँदै प्रत्येक युवालाई सिक्ने, अघि बढ्ने र आफ्नो क्षमता प्रयोग गर्ने अवसर उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको आयोजकले जनाएको छ । मेलामा सीप प्रोफाइलिङ, रोजगार मिलान, सूचना तथा परामर्श र रेफरल सेवा सञ्चालन गरिनेछ ।
असोज १५ देखि १९ गतेसम्म १० वटा विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुने जनाइएको छ । मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफल सञ्चालन हुनेछन् । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी’ विषयमा विशेष प्यानल छलफलसमेत गरिने आयोजकले जनाएको छ ।
















