धरान  /  झापामा सम्पन्न ‘इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसिप–२०८३’ मा धरानकी युमी राईले दुई वटा स्वर्ण पदक जित्नुभएको छ । मेची तेक्वान्दो झापाको आयोजनामा असोज ९ देखि ११ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा राईले व्यक्तिगत पुम्से र जोडी (पेयर) पुम्सेतर्फ स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्रीबाट उद्घाटन गरिएको प्रतियोगितामा नेपाल र मित्रराष्ट्र भारतका सयौँ खेलाडीको सहभागिता रहेको थियो । धरान–१६ स्थित युएन नवोदय कलेजमा कक्षा ११ मा अध्ययनरत राईले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई विधामा स्वर्ण पदक प्राप्त गर्नुभएको कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले जानकारी दिनुभयो ।

प्रिन्सिपल तुम्बापोले अध्ययनसँगै खेलकुद क्षेत्रमा समेत उत्कृष्ट प्रदर्शन गर्दै कलेजको नाम राख्न सफल विद्यार्थीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले युमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर पदक प्राप्त गर्दै आएकाले उनको खेल यात्रालाई थप सहयोग र प्रोत्साहन गर्ने कलेजको नीति रहेको जानकारी दिनुभयो ।

कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले युमीले पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउँदै पदक प्राप्त गर्दै आएको बताउनुभयो । उहाँले खेलाडीको प्रतिभा र मेहनतलाई प्रोत्साहन गर्न कलेजले विशेष कार्यक्रम आयोजना गरी युमीलाई सम्मानसमेत गरेको जानकारी दिनुभयो ।

लिम्बूका अनुसार अध्ययनसँगै खेलकुदमा सक्रिय विद्यार्थीलाई आवश्यक वातावरण र हौसला प्रदान गर्न कलेजले प्राथमिकता दिँदै आएको छ । उहाँले युमीको सफलताले अन्य विद्यार्थीलाई समेत खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।