धरान /   खेलाडीलाई नियमित रूपमा प्रतिस्पर्धाको अवसर उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगितामा पुरुष डबल्सतर्फ सुमन मगर र विवश राईको जोडी विजेता बनेको छ ।

यलम्बर सामुदायिक ब्याटमिन्टन समूह धरान–८ को आयोजनामा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सुमन–विवशको जोडीले राम मावुहाङ र तेज आङ्बुहाङको जोडीलाई २१–१४ र २१–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि विजेता जोडीले १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता जोडीले पाँच हजार रुपियाँ पाएको छ ।

महिला डबल्सतर्फ भावना देवी केदम र विमला राईको जोडी विजेता बनेको छ । फाइनल खेलमा भावना–विमलाको जोडीले योगिता लिम्बू र रूपा थापाको जोडीलाई २१–१६ र २१–१७ को सोझो सेटमा पराजित गरेको हो । विजेता जोडीले पाँच हजार र उपविजेता जोडीले तीन हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे ।

४० टोलीको सहभागिता

प्रतियोगितामा महिला डबल्सतर्फ आठसहित ४० टोलीको सहभागिता रहेको यलम्बर सामुदायिक ब्याटमिन्टन समूहका कोषाध्यक्ष योगराज लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा विभिन्न उमेर समूह र अनुभव भएका खेलाडीको सहभागिता थियो । मैत्रीपूर्ण वातावरणमा आयोजना गरिएको प्रतियोगिताले नयाँ खेलाडीलाई प्रतिस्पर्धाको अनुभव लिन र अनुभवी खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्रदान गरेको थियो ।

“खेलाडीलाई नियमित रूपमा प्रतिस्पर्धामा सहभागी गराउने र ब्याटमिन्टन खेलप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो,” उहाँले भन्नुभयो ।

प्रतियोगितामा सहभागी खेलाडीबीच भएको प्रतिस्पर्धाले धरानमा ब्याटमिन्टन खेलको गतिविधि विस्तार हुँदै गएको देखाएको आयोजकको भनाइ छ ।

ब्याटमिन्टनलाई मनोरञ्जनका रूपमा मात्र नभई स्वस्थ जीवनशैलीको माध्यमका रूपमा समेत विकास गर्ने उद्देश्य समूहले लिएको छ । नियमित शारीरिक गतिविधि र खेलकुदमा युवाको सहभागिता बढाउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने आयोजकको विश्वास छ ।

समूहका अनुसार ब्याटमिन्टन खेलमा नयाँ पुस्ताको सहभागिता बढिरहेको छ । खेलाडीले अभ्याससँगै नियमित प्रतियोगिताको अवसर पाएमा उनीहरूको खेल क्षमता विकास गर्न सहयोग पुग्ने भएकाले प्रतियोगितालाई निरन्तरता दिने योजना बनाइएको हो ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई समूहका अध्यक्ष मुगाधन राई, उपाध्यक्ष पुष्पा लिम्बू र विशेष अतिथि धनबहादुर मगरलगायतले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

खेलाडीलाई वर्षभरि नै प्रतिस्पर्धाको वातावरण उपलब्ध गराउने उद्देश्यले समूहले प्रत्येक तीन महिनाको दोस्रो शनिबार नियमित प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको अध्यक्ष मुगाधन राईले बताउनुभयो ।

उहाँका अनुसार नियमित प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता सुधार गर्ने अवसर दिनुका साथै नयाँ खेलाडीलाई समेत प्रतियोगितामा प्रवेश गर्ने वातावरण तयार गर्नेछ ।

“नियमित प्रतियोगितामार्फत नयाँ खेलाडीलाई अवसर दिने र अनुभवी खेलाडीबीच प्रतिस्पर्धा बढाउने हाम्रो उद्देश्य हो,” अध्यक्ष राईले भन्नुभयो ।

समूहले आगामी दिनमा प्रतियोगिताको दायरा विस्तार गर्दै धरानका विभिन्न क्षेत्रका खेलाडीलाई समेट्ने योजना बनाएको छ । स्थानीयस्तरमा नियमित खेल गतिविधि सञ्चालन भएमा ब्याटमिन्टन खेलाडी उत्पादनमा सहयोग पुग्ने र खेललाई व्यावसायिकतातर्फ अघि बढाउनसमेत आधार तयार हुने आयोजकको अपेक्षा छ ।

धरानमा फुटसल, क्रिकेट, फुटबललगायत खेलसँगै ब्याटमिन्टनमा पनि युवाको सहभागिता बढिरहेको अवस्थामा नियमित प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च उपलब्ध गराउने देखिएको छ । यलम्बर सामुदायिक ब्याटमिन्टन समूहले थालेको नियमित प्रतियोगिताको अवधारणाले खेललाई प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउने प्रयासलाई निरन्तरता दिएको छ ।

खेलाडीका लागि मैदान, अभ्यास र प्रतियोगिता तीनै पक्ष आवश्यक हुने भएकाले स्थानीयस्तरमा हुने यस्ता प्रतियोगिताले प्रतिभा पहिचानसँगै खेल संस्कृतिको विकासमा समेत योगदान पुर्‍याउने आयोजकको विश्वास छ । प्रतियाेगिता सम्पन्न गर्न व्यवसायि कला लिम्बूले सहयाेग गरेकाे आयाेजकले जनाएकाे छ ।