विराटनगर / विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि एनआईसी एसिया क्यापिटल लिमिटेडसँग मङ्गलबार सम्झौता गरेको छ।
विराट एग्रो र एनआईसी एसिया क्यापिटलबीच भएको सम्झौताअनुसार क्यापिटलले कम्पनीलाई सर्वसाधारणका लागि शेयर निष्कासन गर्न आवश्यक संस्थागत परामर्श तथा अन्य प्रक्रियागत सेवामा सहजीकरण गर्नेछ।
एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत विराट एग्रोलाई कम्पनीको संरचना विकासदेखि सार्वजनिक कम्पनीमा रूपान्तरण र सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने चरणसम्म आवश्यक परामर्श उपलब्ध गराउने जनाएको छ।
विराट एग्रोले मोरङ र सुनसरी जिल्लामा १ हजार हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरी सञ्चालन गरी व्यावसायिक रूपमा एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको जनाएको छ। कम्पनीले मत्स्यपालनसँगै माछाका लागि आवश्यक दाना उत्पादन तथा बिक्री वितरणसमेत गर्दै आएको छ।
कम्पनीले इटहरी उपमहानगरपालिका–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गरिरहेको छ। उक्त प्लान्टबाट विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन हुँदै आएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कृषि तथा मत्स्यपालन क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उत्पादन, प्रशोधन, प्याकेजिङ र बजारीकरणसम्मको मूल्य शृंखलालाई एकीकृत र व्यवस्थित बनाउने दीर्घकालीन योजना अघि बढाइएको छ।
प्रस्तावित आईपीओबाट प्राप्त हुने पुँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधिको प्रयोग तथा आवश्यक व्यावसायिक पूर्वाधार निर्माणमा परिचालन गर्ने योजना कम्पनीको छ। कम्पनीले उत्पादनको विस्तारसँगै कृषि तथा मत्स्यजन्य वस्तुको प्रशोधन र बजार व्यवस्थापनलाई थप व्यवस्थित गर्ने जनाएको छ।
सञ्चालक माेहन तिम्सिनाका अनुसार विराट एग्रोले आगामी दिनमा ‘फार्म टु मार्केट’ अवधारणाअन्तर्गत एकीकृत व्यावसायिक प्रणाली विकास गर्ने योजना बनाएको छ। उक्त अवधारणाअनुसार आफ्नै फार्ममा माछा उत्पादन गर्ने, माछाका लागि आवश्यक दाना उत्पादन गर्ने, उत्पादित माछाको आधुनिक प्रविधिबाट प्रशोधन तथा फिलेटिङ गर्ने, चिस्यान भण्डारण गर्ने, प्याकेजिङ गर्ने र बजारसम्म पुर्याउने कार्यलाई एउटै व्यावसायिक चक्रमा जोडिनेछ।
कम्पनीले पाङ्गास माछाको फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने तयारीसमेत गरेको जनाएको छ। यसबाट उत्पादित माछालाई प्रशोधन गरी बजारमा लैजान सहज हुने कम्पनीको अपेक्षा छ।
त्यसैगरी माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने लक्ष्य कम्पनीले लिएको छ। हाल सञ्चालनमा रहेको फिस फिड प्लान्टसँगै थप उत्पादन पूर्वाधार विकास गरी दाना उत्पादनको दायरा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उत्पादन, प्रशोधन र बजारीकरणका विभिन्न चरणलाई एकीकृत गर्दा मत्स्यपालन व्यवसायलाई व्यावसायिक रूपमा विस्तार गर्न तथा उत्पादित वस्तुको मूल्य अभिवृद्धि गर्न सहयोग पुग्नेछ।
एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्ने प्रक्रियादेखि सर्वसाधारणका लागि शेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्ने जनाएको छ। आईपीओ निष्कासनका लागि आवश्यक कानुनी, संस्थागत तथा प्रक्रियागत तयारीमा समेत क्यापिटलले सहजीकरण गर्नेछ।
विराट एग्रोले आईपीओमार्फत पुँजी जुटाएपछि कृषि तथा मत्स्यपालन क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने लक्ष्य लिएको छ। कम्पनीको योजनाअनुसार नयाँ पूर्वाधार निर्माण, उत्पादन क्षमता वृद्धि र प्रशोधन सुविधाको विकासमा पुँजी परिचालन गरिनेछ।
नेपालमा व्यावसायिक मत्स्यपालन विस्तार भइरहेका बेला उत्पादनसँगै माछाका लागि आवश्यक दाना, प्रशोधन, भण्डारण र बजारीकरणलाई एउटै प्रणालीमा जोड्ने गरी निजी क्षेत्रबाट पूर्वाधार विकासको प्रयास भइरहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्कासनका लागि कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेपछि नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने चरण अघि बढ्नेछ। सर्वसाधारणका लागि कति कित्ता शेयर निष्कासन गर्ने र निष्कासन मूल्य तथा अन्य विवरण भने सम्बन्धित प्रक्रिया पूरा भएपछि सार्वजनिक हुनेछन्।



















