धरान / एक हजारको नेपाली नोट फोटो कपि गरि बजारमा ठगी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यलय धरानले फोटोकपी मेसिनसहित पक्राउ गरेको छ ।
गत विहीबार धरान–१५ को एक व्यापारीलाई दुई युवाले झुक्याएर फोटोकपी गरेको एक हजारको कागजी पैसा दिइ सक्कली पाँच (पाँच सयको नोट लिएर ठगी गरेको सार्वजनिक भए प्रहरीले उक्त युवाहरुलाई खोजी शुरु गरेको थियो ।
खोजी गर्ने क्रममा गत फागुन २८ गते अस्थायी प्रहरी चौकी अमरहाटका असई सुमन दाहालकोले धरान–१३ का राज राई र प्रकाश भण्डारीलाई पक्राउ गरेको थियो । फोटो कपि पैसा दिएर सक्कली पैसा लिई उनीहरु लागु औषध खरिद गरि प्रयोग गर्दै आएका थिए । उनीहरुकै बयानको आधारमा धरान–१९ का मनिष राई, धरान–११ का दिवस राई र धरान–७ का मीनकुमार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । धरान– ७ क्यालिटी डिजिटल फोटो स्टूडियोमा फोटोकपी गर्दै गरेको अवस्थामा प्रहरीले २ थान नोट, कागज र ब्रोदर कम्पनिको प्रिन्टर मेसिन बरामद गरेको थियो ।
इप्रकाका डिएसपी रामेश्वर पौडेलका अनुसार मनिषलाई सादा पोषाकका प्रहरीका साथमा २ हजार रुपैयालाई फोटोकपि गर्न उक्त स्टूडियोमा पठाएको थियो । मनिषले त्यहाँ काम गर्ने कर्मचारी मीनकुमार राईले फोटोकपी गरेर दिने गरेका थिए । प्रहरीले फोटोकपी गर्दै गरेको अवस्थामा मीन र दिवसलाई नियन्त्रणमा लिएको थियो । उक्त अवैध धन्दाका विषयमा स्टूडियोका मालिक दिपेन शाक्यलाई निर्दोष भएका कारण नियन्त्रणमा लिए तारिकमा छाडिएको डिएसपी पौडेलले जानकारी दिएका छन् ।
उनीहरुलाई नेपाल राष्ट्रबैंकको खोटा सिक्का अन्तर्गत मुद्दा चलाईने ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ । सो ऐन अन्तर्गत दश लाख रुपैया जरिवाना र तीन वर्षसम्म सजाय हुनसक्ने व्यवस्था छ ।