बेलटार  । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा हुँदै आएको नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दशौं संस्करण यही असोजमा हुने भएको छ । 

बसाहा क्लब बसाहाले आयोजना गर्ने नारदमुनि स्मृति गोल्डकपको यो दशौं संस्करण भएको आयोजकले जनाएको छ । २००७ सालका क्रान्ति योद्धा तथा पूर्व मन्त्री स्वर्गीय नारदमुनि थुलुङ राइको स्मृतिमा स्थानीय बसाहा क्लबले गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा ८ टिम सहभागी हुने बसाहा क्लबका सल्लाहाकार समेत रहनु भएका शेखर राइले जानकारी दिनुभयो । यस वर्षको दशौं संस्करणको गोल्ड कप प्रतियोगितामा आयोजक बसाहा क्लबसहित साबिकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौँ, सलेहस क्लब सिराहा र सङ्कटा एफसी काठमाडौँले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिता यही असोज १७ गतेबाट असोज २४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ५ लाख नगदसहित ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै उपविजेताले २ लाख २५ हजारका साथमा गोल्ड मेडल र प्रमाणपत्र पाउने बसाहा क्लबका अध्यक्ष गौतम राईले बताउनुभयो । प्रतियोगितामा हरेक दिन ५ हजार नगदसहित म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको फाइनलमा विभिन्न सात विधाका खेलाडीहरूलाई नगद ५ हजार प्रमाण पत्र र मेडल सहित सम्मान गरिने आयोजकले जनाएको छ ।