धरान । धरान–१६ स्थित युएन–नवोदय कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको छ ।
धरान–१५ स्थित चुमलुङ हिमको हलमा बिहीबार आयोजित ‘वेलकम एन्ड फेलिसिटेसन प्रोग्राम–२०८३’ मा विज्ञान, व्यवस्थापन, कम्प्युटर व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको कलेजले जनाएको छ । विज्ञानतर्फ प्रशान्त श्रेष्ठ, कम्प्युटर व्यवस्थापनतर्फ रेशिका शर्मा, होटल म्यानेजमेन्टतर्फ सलिना राई र व्यवस्थापनतर्फ बेबिका चौधरी सम्मानित हुनुभयो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएचएमका विभिन्न सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो । आठौँ सेमेस्टरमा सन्ध्या थेगिमले ३।७२ जीपीएसहित धरान टपर, तेस्रो सेमेस्टरमा अलिश राईले ३।८४ जीपीएसहित धरान प्रथम तथा पहिलो सेमेस्टरमा मनोज राईले ३।७७ जीपीएसहित सुनसरी जिल्ला टपरको उपलब्धि हासिल गर्नुभएको कलेजले जनाएको छ ।
कार्यक्रममा एसईई सिङ्गिङ आइडलकी विजेता खिना राना मगर, बाबी श्रेष्ठलगायतले गीत प्रस्तुत गर्नुभएको थियो । विभिन्न कक्षाका विद्यार्थीले नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक विजेता प्रमोद राई, एसईई स्पिच आइडल–२०२६ की विजेता सिम्रन गुरुङ, एसईई सिङ्गिङ आइडल–२०२६ की विजेता बाबी श्रेष्ठ, एसईई डान्सिङ आइडल–२०२६ की प्रथम उपविजेता महिमा लिम्बू तथा तेक्वान्दोकी स्वर्ण पदक विजेता युमी राई सम्मानित हुनुभयो ।
त्यस्तै, एसईई डान्सिङ आइडल–२०२६ की तेस्रो उपविजेता स्मारिका लिम्बू, स्कोन धरानद्वारा आयोजित वक्तृत्व प्रतियोगिताकी विजेता रेदिमा भुजेल तथा एसईई डान्सिङ आइडल–२०२६ को पब्लिक च्वाइस अवार्ड विजेता रुची लिम्बूलाई पनि सम्मान गरिएको थियो ।
कलेजले अध्ययनसँगै विद्यार्थीको प्रतिभा र व्यक्तित्व विकासमा जोड दिँदै विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्दै आएको जनाएको छ ।
कार्यक्रममा विद्यार्थीले गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । युएन–नवोदय कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख धुर्वराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
प्रमुख अतिथि खड्काले विद्यार्थी जीवनमा अध्ययनसँगै अनुशासन, सिर्जनशीलता र अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिनुपर्ने बताउनुभयो । विद्यार्थीले आफ्नो क्षमता पहिचान गरी निरन्तर मेहनत गर्नुपर्ने उहाँको भनाइ थियो ।
“विद्यार्थीको सफलता परीक्षाको अंकमा मात्र सीमित हुँदैन, उसले प्राप्त गर्ने ज्ञान, सीप र व्यवहारले भविष्य निर्माण गर्छ,” उहाँले भन्नुभयो । युएन कलेजका क्याम्पस प्रमुख तथा नवोदय माविका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । कलेजले विद्यार्थीको शैक्षिक विकाससँगै प्रतिभा र क्षमता प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको उहाँले जानकारी दिनुभयो ।
“हामी विद्यार्थीलाई केवल प्रमाणपत्र दिने शिक्षामा सीमित राख्न चाहँदैनौँ । उनीहरूको प्रतिभा पहिचान गरी आत्मविश्वासी, अनुशासित र सक्षम बनाउन चाहन्छौँ,” उहाँले भन्नुभयो ।




















