धरान । बिहान ४ बजेदेखिको चहलपहलसँगै धरान–१३ स्थित कृषि उपज बजार केन्द्र पनि व्यस्त बन्छ। कोही किसान डोको र बोरा बोकेर बजार पसिरहेका हुन्छन्, कोही व्यापारी आफ्ना पसलमा कृषि उपज मिलाउँदै हुन्छन्। फलफूलका थुप्रा, तरकारीका बोरा र विभिन्न कृषि उत्पादन चथा नगदे वालीका बीच उपभोक्ताको आउजाउले बजारलाई बिहानैदेखि चलायमान बनाइरहेको छ।

यहाँ आउने हरेक उत्पादनको पछाडि कुनै किसानको मेहनत जोडिएको हुन्छ। खेतमा पसिना बगाएर उत्पादन गरिएको तरकारी होस् वा बारीबाट टिपेर ल्याइएको फलफूल, बजार केन्द्र हुँदै ती वस्तु उपभोक्ताको भान्सासम्म पुग्छन्। त्यसैले धरान–१३ को कृषि उपज बजार केन्द्र किसान र उपभोक्ताबीचको एउटा महत्वपूर्ण सेतु बनेको छ।

धरान–१७ का फलफूल व्यवसायी बमबहादुर कार्की लामो समयदेखि यहीबाट फलफूल किनेर आफ्नो टोलमा कारोवरा गरिरहनुभएको छ ।  उहाँका लागि कृषि उपज बजार केन्द्र व्यापार गर्ने स्थान मात्र होइन, विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपज उपभोक्तासम्म पुर्‍याउने माध्यम पनि बनेको छ । नेपाली सेनाबाट रिटार्यर भएर उहाँ रेलवेमा फलफुल व्यवसायी गरिरहनुभएको छ । 

tejpatta

“यहाँ विभिन्न ठाउँबाट फलफूल तथा कृषिजन्य वस्तु आउने गर्छन्। किसान, व्यापारी र उपभोक्ता सबैको भेट हुने भएकाले किनबेच गर्न सहज छ,” कार्की भन्नुहुन्छ, “बजार केन्द्रका कारण कृषि उत्पादन बिक्री गर्ने र उपभोक्ताले आवश्यक वस्तु खरिद गर्ने वातावरण बनेको छ।” कृषि उत्पादनको बजारसँग प्रत्यक्ष सम्बन्ध जोडिनु किसानका लागि महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ। बजारमा माग भएका वस्तु नियमित रूपमा बिक्री हुन सके किसानलाई उत्पादनमा निरन्तरता दिन सहज हुने उहाँको भनाइ छ।

बजार केन्द्रको अर्को महत्वपूर्ण पक्ष उपभोक्ताको सहजता हो। धरानकी गृहणी अमृता राई घरायसी प्रयोजनका लागि फलफूल तथा तरकारी खरिद गर्न यही बजारमा आउने गर्नुहुन्छ। “घरमा चाहिने फलफूल, तरकारीलगायतका सामान एकै ठाउँमा किन्न पाइन्छ,” राई भन्नुहुन्छ, “ताजा कृषि उपज किन्न पाइने भएकाले यहाँ आउन सहज लाग्छ।”

उहाँका अनुसार कृषि उपज उत्पादन हुने ठाउँ र उपभोक्ताबीच बजारले समन्वयको काम गर्छ। किसानले उत्पादन गरेको वस्तु बजारमा आएपछि उपभोक्ताले पनि आफूलाई आवश्यक कृषि उपज सहज रूपमा खरिद गर्न पाउने उहाँ बताउनुहुन्छ। कृषि बजारको चहलपहलमा राईजस्ता उपभोक्ताको उपस्थिति पनि नियमित देखिन्छ। बिहानै बजारमा आउने उपभोक्ताका लागि ताजा तरकारी, फलफूललगायतका कृषि उपज खरिद गर्ने अवसर यहीँ उपलब्ध हुन्छ। धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले कृषि उपज बजार केन्द्रले स्थानीय कृषि उत्पादनलाई बजारसँग जोड्ने काम गरिरहेको बताउनुहुन्छ।

“कृषि उपज बजार केन्द्र किसानले उत्पादन गरेको वस्तु बिक्री गर्ने र उपभोक्ताले खरिद गर्ने महत्वपूर्ण स्थान हो,” काफ्ले भन्नुहुन्छ, “यहाँ कृषिजन्य वस्तु, फलफूल, नगदेबालीसँगै खसीबोकाको समेत कारोबार हुँदै आएको छ।” उहाँका अनुसार किसानले उत्पादन गरेको वस्तु बिक्रीका लागि उपयुक्त बजार पाउनु कृषि क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिएको विषय हो। उत्पादन गरेपछि बिक्रीको सुनिश्चितता नहुने हो भने किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न कठिन हुने उहाँ बताउनुहुन्छ। “बजारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सकियो भने किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्छ,” उहाँ भन्नुहुन्छ।

orange

कृषि उपज बजार केन्द्रमा तरकारी र फलफूल मात्रै कारोबार हुँदैन। यहाँ विभिन्न कृषिजन्य वस्तु, फलफूल, नगदेबाली तथा खसीबोकाको समेत कारोबार हुँदै आएको छ।  कृषि उपज बजारमा सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयमा भने हप्तामा १० हजार बढी खसीबोका बिक्री हुने गरेको छ । 

आर्थिक वर्ष २०८२/८३ मा कृषि उपज बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब रु तीन अर्बको कारोबार भएको अध्यक्ष भट्टराईले  उल्लेख गर्नुभयो । गत वर्षको चाडपर्वमा मात्रै रु ४६ करोडबराबरको कारोबार भएको थियो । यस वर्ष कारोबार थप वृद्धि हुनसक्ने उहाँको भनाइ छ ।

भट्टराईका अनुसार बजारमा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष खसीबोकाको कारोबार १५ प्रतिशतले वृद्धि भइसकेको छ । बजारमा पहाडी जिल्लाका साथै इटहरी, मोरङको कानेपोखरी र बेलबारीलगायत तराईका किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि आउने गरेका छन् ।

कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा योगदान पुर्याएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

बजार केन्द्रका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार विभिन्न प्रकृतिका कृषि उत्पादनको कारोबार हुने भएकाले केन्द्रमा दैनिकजसो चहलपहल रहने गरेको छ। यहाँ भारत तथा तेश्रो मुलुकबाट फलफुल, कृषिजन्यबस्तुसमेत आयत निर्यात हुदैं आएको छ । अहिलेको कारोबारबारे भने पछिल्लो स्रोतले कृषि उपज बजारमा दैनिक एक करोड रुपैयाँभन्दा बढीको औसत कारोबार हुने र खसीबोका तथा कृषि उपजको कारोबार भइरहेको जनाएको छ।

naspati

“यहाँ कृषिजन्य वस्तु, फलफूल, नगदेबालीको किनबेच हुन्छ। खसीबोकाको कारोबार पनि हुने गरेको छ,” भट्टराई भन्नुहुन्छ, “विभिन्न क्षेत्रबाट कृषि उपज आउने भएकाले किसान, व्यापारी र उपभोक्तालाई एउटै ठाउँमा जोड्ने काम बजार केन्द्रले गरिरहेको छ।” उहाँका अनुसार कृषि उपज बजार केन्द्रले उत्पादनलाई बजारसम्म पुर्‍याउन र बजारको मागलाई किसानसम्म पुर्‍याउन पनि भूमिका खेल्छ। किसानले आफ्नो उत्पादन बिक्री गर्न पाएपछि उत्पादनमा निरन्तरता दिन सहज हुने उहाँको भनाइ छ।

धरानको कृषि उपज बजार केन्द्रमा बिहान देखिने दृश्य सामान्य लाग्न सक्छ। तर यहीँ किसानको खेतमा उत्पादित वस्तु व्यापारीको हात हुँदै उपभोक्ताको भान्सासम्म पुग्ने चक्र पूरा भइरहेको हुन्छ। किसानका लागि बजार आवश्यक छ। व्यापारीका लागि उत्पादन आवश्यक छ। उपभोक्ताका लागि ताजा कृषि उपज आवश्यक छ। यी तीन पक्षलाई एउटै स्थानमा जोड्ने काम बजार केन्द्रले गरिरहेको छ।

यहाँ आउने आलु, टमाटर, प्याज, फलफूललगायतका कृषि उपज धरानमा मात्र सीमित नरही पूर्वी पहाडी जिल्ला तथा देशका अन्य बजारसम्म पुग्ने गरेका छन्। यसले धरानको कृषि बजारलाई स्थानीय बजारसँगै क्षेत्रीय कृषि व्यापारको केन्द्रका रूपमा समेत स्थापित गरेको छ। 

स्थानीय उत्पादनले बजार पाए किसानलाई उत्पादन बढाउने आधार मिल्छ। किसानले उत्पादन गरेको वस्तु बजारमा आएपछि उपभोक्ताले पनि स्थानीय कृषि उत्पादन खरिद गर्ने अवसर पाउँछन्। यसले स्थानीय कृषि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउँछ। धरान–१३ को कृषि उपज बजार केन्द्र त्यसैले केवल कृषि वस्तु किनबेच गर्ने ठाउँ मात्र होइन, किसानको खेत र उपभोक्ताको भान्साबीचको सम्बन्ध जोड्ने थलो बनेको छ।

बजारको व्यवस्थापन, पूर्वाधार, सरसफाइ र कारोबारलाई थप व्यवस्थित गर्दै लैजान सकिएमा यसको प्रभाव स्थानीय कृषि उत्पादनदेखि उपभोक्ता बजारसम्म अझ फराकिलो बन्न सक्छ। खेतमा किसानले गरेको मेहनतको उचित मूल्य बजारमा खोज्ने र उपभोक्ताले आफ्नो आवश्यकता पूरा गर्ने साझा थलोका रूपमा कृषि उपज बजार केन्द्रको भूमिका अझ महत्वपूर्ण बन्दै जाने 

किनबेच मात्रै होइन, किसानलाई सुविधा पनि

धरान–१३ स्थित कृषि उपज बजार केन्द्रमा कृषि उपजको किनबेचसँगै किसान र व्यापारीलाई लक्षित विभिन्न सुविधा उपलब्ध छन्। बजारमा ७५ टन र १० टन क्षमताका दुईवटा शीतगृह रहेका छन्। शीतगृहले तत्काल बिक्री हुन नसकेका फलफूल तथा तरकारी सुरक्षित राख्न सहयोग पुर्‍याउने भएकाले किसानलाई उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता कम गर्न मद्दत पुग्ने देखिन्छ।  

केृषि बजार व्यवस्थापक भट्टराईका अनुसार खसीबोका कारोबारका लागि बजारमा छुट्टै खोर, तौल गर्ने काँटा, पानी–बिजुली, सिसिटिभी तथा रिफ्रेस सेन्टरजस्ता सुविधा रहेको विवरण छ। टाढाबाट खसीबोका लिएर आउने किसान तथा व्यापारीका लागि बजारमै बस्ने व्यवस्था समेत गरिएको छ।  कृषि बजारमा साताको दुई दिन खसीबोकाको विशेष कारोबार हुने गरेको छ। पहाड तथा तराईका विभिन्न जिल्लाबाट आउने किसान र व्यापारीका लागि बजारले किनबेचको साझा थलोको काम गर्दै आएको छ।  तरकारी, फलफूल र नगदेबालीको कारोबार पनि बजारको अर्को विशेषता हो। 

mango