धरान /  धरान खानेपानी बोर्डले अत्याधिक वृद्धि गरिएको खानेपानी महसुल यतावत बनाउन माग गर्दै धरानका राजनीतिक दलहरुले धरान उपमहानगरका मेयर रहनु भएका बोर्डका अध्यक्ष हर्कराज राई(साम्पाङ)लाई दिएको अल्टिमेटमको समय सोमबार सकिएको छ ।

१० वटा राजनीतिक दलहरुले शुक्रबार बोर्डको अध्यक्ष रहनु भएका राईलाई महसुल यथावत कायम गराउन माग गर्दै ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र वुझाएका थिए ।

तर मेयर राईले दलहरुको मागलाई सुनुवाई गरेनन् । उहाँले कुनै प्रतिक्रिया नजनाए पछि मंगलबार १० राजनीतिक दलहरुले आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेका छन् । 

बोर्डको स्वघोषित अध्यक्ष हर्क राज राईले आफ्नो एकल निर्णयबाट अवैज्ञानिक ढ्ङगबाट जनताको ढाड सेक्ने गरि खानेपानीको मूल्य बृद्धि घटाउन माग गर्दा वेवास्ता गरेको भन्दै साउन १७ गते बाट आन्दोलन गर्ने दलहरुले जनाएका छन् । 

नेकपा एमाले उपमहानगर कमिटी अध्यक्ष हर्क एभेङका अनुसार साउन १७ गते धरानका संघ संस्था र सम्बन्धित सरोकारवाला निकाय अन्तरक्रिया गर्ने, साउन १८ गते धरानका २० वटै वडा कार्यलयमा ध्यानकर्षण पत्र बुझाउने र साउन २० गते बोर्डको कार्यलयमा धर्ना बस्ने कार्यक्रम रहेको छ । 

धरान खानेपानी बोर्डले खानेपानी महसुल बढाए पछि गत शुक्रवार छाताचौकबाट जुलुससहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय मागको ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम नगरे आन्दोलन सुरु गरिने १० दलले चेतावनी दिएको थियो तर अहिले सम्म मेयरले सुनुवाई गरेका छैनन् । अवैज्ञानिक ढंगबाट बढेको शुल्क वृद्धि तत्काल रोक्न उनीहरुको माग छ ।