धरान । आफुखुशी खानेपानीसँग सम्बन्धित शुल्कहरू वृद्धि गरेको विरोधमा धरानका १० वटा राजनीतिक दलहरूले धरान खानेपानी व्यवस्थापन बोर्डलाई ज्ञापन–पत्र बुझाएका छन् ।

ज्ञापन–पत्रमा शुल्क वृद्धि तत्काल खारेज गरी पुरानै महसुल कायम गर्नुपर्ने, बोर्डलाई पूर्णता दिई पारदर्शी र जवाफदेही रूपमा नियमित सञ्चालन गर्न उनीहरूले माग गरेका छन् ।
शुक्रबार बाेर्डका कार्यकारी निर्देशक राजु पाेखरेललाई ज्ञापन पत्र बुझाईएकाे हाे ।
  “ मागहरू ७२ घण्टासम्म पूरा गर्न अनुरोध गर्न चाहन्छौँ” ज्ञापन–पत्र वाचन गर्दै जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुब लिम्बूले भन्नु भयाे “यदि समयसीमाभित्र जनताका मागहरू पूरा नभएमा चरणबद्ध आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गर्दै आन्दोलन गर्न बाध्य हुने छौँ ।”

बोर्डले चालू आर्थिक वर्षबाट लागू हुने गरी खानेपानीको शुल्कदेखि निवेदन शुल्क, नामसारी शुल्क, मिटर जडान शुल्क वृद्धि गरेका छ । हाल बोर्ड एकल निर्णयमा चल्दै आएकाले यस्तो अवैज्ञानिक निर्णय मान्य नहुने विरोधकर्तामध्ये एक घटक नेकपा (माओवादी केन्द्र) धरानका इन्चार्ज चोत्लुङले बताउनु भयाे ।
१० दलमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा –एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम सङ्घीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टी रहेका छन् ।

१० राजनीतिक दलहरूले जारी गरेको ज्ञापन–पत्रका अनुसार नयाँ धारा जडानमा न्यूनतम ३३ देखि ३०० प्रतिशतसम्म, होल चेन्ज १५० देखि २८० प्रतिशतसम्म, नामसारी २४ सय प्रतिशतदेखि ९९ सय प्रतिशतसम्म, मर्मत तथा चेक १०० देखि १९ सय प्रतिशतसम्म, महसुल ११ देखि २०० प्रतिशतसम्म, निवेदन दस्तुर ४०० प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थपिएको भनी उल्लेख गरेको छ । 

प्राप्त जानकारीअनुसार निवेदनमा १० रुपैयाँबाट ५० रुपैयाँ, नामसारीमा दुई हजार ५० बाट पाँच हजार ५० रुपैयाँ र नयाँ मिटर जडानमा १५ हजार ५० बाट २० हजार ५० रुपैयाँ शुल्क वृद्धि गरिएको छ । त्यस्तै खानेपानी महसुलमा १३० रुपैयाँबाट १५० रुपैयाँ वृद्धि गरिएको छ । धरानमा २०७४ अगाडिसम्म नेपाल खानेपानी संस्थानमार्फत खानेपानी खाइँदै आएको थियो भने २०७४ पछि बोर्डमा गएको हो । 
बाेर्डमा पदेन सदु्यहरूलाई बाईपास गरेर अध्यक्षले एकल निर्णय गर्दै आउनु भएकाे छ ।