•  सुनसरी १ का उम्मेद्वार जयकुमार राईको घरमा बम विस्फोट

धरान / वामगठबन्धनबाट सुनसरी १ बाट प्रतिनिधि सभाका उम्मेदवार जयकुमार राईको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । धरान १५ स्थित उनको निवास अगाडी बिहीबार साँझ करिव ६ बजेर १० मिनेट तिर अज्ञात समूहले बम फालेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । तर, बम विस्फोट भए पनि मानवीय र भौतिक क्षति नभएको इप्रका धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।
बम पर्खालमा लागेका कारण सामान्य क्षति पुगेको छ । बम फाल्ने समूहको खोजी भइरहेको डिएसपी पौडेलले बताए । पछिल्लो समय उम्मेदवारहरुलाई त्रासमा पारेर चुनाव निस्तेज बनाउन अज्ञात समूह सक्रिय रहेको प्रहरीको भनाइ छ । यस अघि पनि पूर्व तथा पश्चिमका विभिन्न स्थानमा बम विस्फोट गराइएको छ ।  
नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका राईलाई सुरक्षा थ्रेट रहेको प्रहरीले यस अघि नै  जानकारी गराएको थियो । चुनाव प्रचारमा दलहरुको उम्मेद्वारको सुरक्षाका लागि सादा पोषकमा प्रहरी खटाइदै आएको छ ।
यसै गरि विहीबार नै इटहरीमा नेकपा एमालेको चुनावी कार्यक्रम भइरहेको स्थान नजिक वम विस्फोट गराइएको छ । बम विस्फोट कस्ले गराएको भन्ने खुलेको छैन  ।
इटहरी– ५ जनता वस्तीमा नेकपा एमालेको चुनावी कार्यक्रम भइरहेका  सयमयमा अपरान्ह सवा ४ बजेतिर कार्यक्रम स्थलनजिकै बम विस्फोट भएको इलाका प्रहरीले जनाएको छ ।
चुनावी प्रचारको कोण सभा भइरहेका बेला कार्यक्रम स्थल भन्दा ५० मिटर पर बम विस्फोट भएको थियो ।  चुनावी सभामा पूर्व साँसद रेवतीरमण भण्डारीसहित सुनसरी क्षेत्र नम्वर २ का बाम गठबन्धनका उमेद्वार हिमाल सुवेदी, प्रदेश सभा सदस्य सर्वध्वज साँवासहित कार्यकर्ताहरुको सहभागिता रहेको थियो । विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन ।