धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारी तथा विद्यार्थीसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै धरानका प्रमुख राजनैतिक दलहरुले आपती ध्यानाकर्षण गराएका छन् । 

राजनैतिक दलहरु समेतको रोहबरमा प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको बढुवालगायतका मागहरुमा सहमती भएको तर कार्यान्वयन नगरेको भन्दै दलहरुले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सम्झौता कार्यान्वयन गर्न प्रतिष्ठान नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् । माघ १ गते प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमाले, नेपाली काङग्रेस,नेकपा माओबादी केन्द्र, एकिकृत समाजबादी र जनता समाजबादी पार्टीले सम्झौता कार्यान्वयन गर्न नसक्ने भए  प्रतिष्ठानको प्रमुख नेतृत्वले मार्ग प्रसस्त गर्नु पर्ने सुझाब दिएका छन् । आफ्नो पदीय मर्यादा र गरिमा कायम राख्न पनि दलहरुले पदाधिकारीलाई सचेत गराएका छन् ।

प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा उपचार सेवा प्रभावित नहुने गरि आन्दोलका कार्यक्रम गर्न पनि दलहरुले आग्रह गरेका छन् । प्रतिष्ठान ब्यबस्थापनको गैरजिम्मेवारीका कारण प्रतिष्ठानका शैक्षिक तथा स्वास्थ्य उपचार प्रभावित भए दलहरुले प्रतिष्ठानमा हस्तक्षेप बढाउन बाध्य हुने चेतावनी समेत दलहरुले दिएका छन् । विज्ञप्तिमा नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ,नेपाली काङ्ग्रेस धरानका सभापती श्याम पोख्रेल,नेकपा माओबादी केन्द्र धरानका अध्यक्ष मनोज भट्टराई,जनता समाजबादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बु, तथा नेकपा एकिकृत समाजबादी धरानका अध्यक्ष रेवतीरमण राईले हस्ताक्षर गर्नु भएको छ । 

मेयरले कामु उपकुलपतिको कार्यकक्षमा लगाए ताला

मेयरकै उपस्थितिमा भएको सम्झौता कार्यन्वय नगरेको भन्दैं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा आफैँले ताला लगाउनु भएको छ । 

बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगि ताला लगाउनु भएको हो ।  साम्पाङले ताला लगाउँदै भने, ‘बिपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरुन्, आवश्यक परेका बेला म आफैँ आएर खोल्छु ।’

मेयर साम्पाङले बिपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेको कर्मचारीहरूले बताए । प्रतिष्ठानका सिनेटरसमेत रहेका मेयर साम्पाङले यस अघि उपकुलपतिलाई तल्लोस्तरको भाषा प्रयोग गरि उसले गरेको निर्णय कसैले नमान्ने भन्दैं आफ्नो फेसबुक पेजमा लेख्नु भएको थियो ।  उहाँले सामाजिक सञ्जालमा अर्को लेख्नु भएको छ ‘बि।पि।अस्पतालको भिसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु १ नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !’