इटहरी / इटहरी उपमहानगरपालीकाका मेयर द्वारीकलाल चौधरीले सार्वजनिक जग्गा अतिक्रमण गरी वनाईएका संरचना हटाउन सुरु गरेका छन् । शुक्रवार विहान नै नगरपालीकाका कर्मचारी , प्राविधिक , जनप्रतिनिधि , राजनितिक दलका नेता , सुरक्षाकर्मीसहित मेयर चौधरी आफू पुगेर नेपाली सेनाको पृतनासँगैको खेती खोला अतिक्रमण खाली गराउन शुरु गरेका हुन ।
दुई साता अघि खोलाको जमिन छुट्याउन प्राविधिकसहित उनि पुगेर खोलाको जमिन छुट्याउन लगाएका थिए । जमिन छुट्याउने कामसँगै उनले सबै राजतीतिक दलहरुसँगको परामर्शमा अतिक्रमण भएका स्थानमा घर टहरा भत्काउन शुरु गरेका हुन ।
उनले गत साउन महिनामा अभियान थाले पनि विचमा रोकिएको थियो । तर शुक्रवार विहानवाटै जेसिभि र डोजरसहित पुगेका उनले प्राविधिकले नक्साङकन गरेको क्षेत्र निरीक्षण गरी भत्काउन निर्देशन दिएका थिए । पहिलो चरणमा घरवाहेकका संरचना भत्काउन थालिएको मेयर चौधरीले जानकारी दिए । घर भएका स्थानमा भने भत्काउन निश्चित समय दिएर भत्काउन लगाउने र अटेर गरे उपमहानगरले वल प्रयोग गर्ने चेतावनीसमेत दिएका छन् ।
पहिलो चरणमा अतिक्रमण भएका खोला र पैनि क्षेत्रका संरचना भत्काउने र दोस्रो चरणमा सार्वजनिक जग्गामा वनेका संरचना भत्काईने उपमहानगरले जनाएको छ ।
खोना पैनीहरु अतिक्रमण भएका कारण गत असार २७ गते आएको बाढी मानव बस्ती पसेर इटहरी क्षेत्रमा ८ जनाको ज्यान गएको थियो भने हजारौ वासिन्दा विस्थापित भएका थिए । आगामी दिनमा यस्तो प्राकृति प्रकोप भोग्न नपरोस भनेर उपमहानगरले अतिक्रमण हटाउने अभियान शुरु गरेको हो ।