धरान /  फागुन ५ गते शनिबार आयोजना हुन लागेको धरान रन, नेपाल आईस छैटौं नेवा च्यारिटी ८ के रनको सम्पुर्ण तयारी पुरा भएकोे छ । आयोजक धरान रनले विहिबार पत्रकार सम्मेलन गरि तयारीबारे जानकारी गराएको छ । प्रतियोगितामा २ हजार ४ सय ७५ जना व्यक्तिहरुले सामुहिक दौडने छन् । यो संख्या नेपालकै सबै भन्दा बढि सहभागी भएर दौडिने संख्या हो । स्वच्छ धरान, स्वस्थ्य धरान नारा दिएर स्थापना भएको संस्था धरान रनले बर्षेनी आयोजना गर्ने दौडमा सहभागी संख्या देशकै सर्वा्िधक रहेको आयोजकको दावी गर्दै आएको छ ।
दौड शनिबार बिहान साढे ६ बजे भानुचौकबाट शुरु भएर पुतली लाईन, कल्याण चौक, पानी टंकी, गणेशमान चौक, जनपथ, रंगशाला हुदै, जिरो प्वाईन्ट, अमरहाट, रेडक्रस भवन, हातिसार क्याम्पस, बिजयपुर चौक, पिण्डेश्वर मन्दिर, चिनिया चौक, पुरानो बजार, देशी लाईन हुदै पुन भानुचौकमा पुगेर समापन हुने धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए ।
दौडको दुरी ८ किलोमिटरको हुने छ । प्रतियोगितामा नेपाल भरिका विभिन्न उमेर समुहका राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाउने अध्यक्ष राईले जनाए । दौडमा १२ बर्ष मुनिका, १६ बर्ष मुनिका, भेट्रान खुल्ला गरि विभिन्न चार उमेर समुहका महिला पुरुष धावकले प्रतिस्पर्धा गर्नेछ ।
खुल्लातर्फका महिला तथा पुरुष तर्फ प्रथम, दोस्रो र तेस्रो उपाधि विजेताले जनही मेडल सहित क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार पुरस्कार पाउनेछन् । यस्तै, १२ बर्ष, १६ बर्ष मुनि र भेट्रान ४० बर्षमाथिका प्रथम, दोस्रो र तेस्रो हुने धावक र धाविकाले मेडल सहित जनही क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार हात पार्ने आयोजक संस्थाका संस्थापक सन्तोष राईले जनाए । राईका अनुसार दौडमा खुलाबाहेक अन्य उमेर समुहका धावक वा धाविकाले प्रथम, दोस्रो वा तेस्रो स्थान प्राप्त गरेमा खुला र आफनो उमेर समुह दुवैतर्फको पुरस्कार प्राप्त गर्नेछ । सहभागि सम्पुर्ण धावकहरुलाई आयोजकले टिसर्ट प्रदान गर्नेछ । टी सर्ट धरान रनका संस्थापक सन्तोष राईका परिवारले प्रायोजक गरेको छ ।
आयोजकले विगतको संस्करणमा खर्च कटाएर जोगिएको रकम कुनै सामाजिक संस्था वा अपांगता, असहाय व्यक्तिहरुलाई सहयोग गर्दै आएको थियो । यो बर्षदेखि भने खर्च कटाएर जोगिएको रकमबाट बालबालिका तथा महिला आकस्मिक औषधी उपचारार्थ नेवा च्यारीटी हेल्थ कोष स्थापना गरिने योजना रहेको पनि संस्थापक अध्यक्ष राईले बताए ।
नेवा च्यारिटी ८ के रनले यस अघि शारीरिक अपांगता भएकी साहित्यकार लक्ष्मी राई, संक्रमित दुव्र्यसनी महिलाहरुको लागि दृष्टि नेपालको ह्यापी होम, धरान पोजेटिभ समुहमार्फत संक्रमित बालबालिकाहरुको शिक्षामा, एकल महिला समुहको छहारी भवन, क्यान्सर पीडित नविन बिक, वृद्धा स्वर्गीय मिठु कटुवाल, मृगौला पीडित प्रमिला बिक लगायतलाई सहयोग गरिसकेको छ ।