धरान । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा कार्य समिति चयनका लागि मतदान सकिएको छ । गएराति भएको मतदानमा ९७७ जना प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले प्रतिष्पर्धामा छन् ।

अधिवेशन शुक्रवार उद्घाटन भए पनि मतदान भने आइतबार रातिमात्रै भएको हो । अध्यक्षका लागि सहमतिको प्रयास लम्बिँदा मतदान ढिला भएको हो । सहमति प्रयास असफल भएपछि राति १० बजेदेखि मात्र मतदान सुरु भई बिहान सवा ५ बजेतिर मात्र सकिएको थियो ।

 ढकाल र खतिवडाले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गरेका हुन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ र ४९ सदस्य भने निर्विरोध भइसकेका छन् ।

त्यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेस लामा उम्मेदवार रहेका छन् भने उपसचिवमा खोटाङका देवान राई, झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली उम्मेदवार रहेका छन् । दुईवटा उपमहासचिव पदमा तीन जनाको उम्मेदवारी परेको हो । मत गणना आज दिउँसो १ बजे सुरु गर्ने तयारी छ ।

२१५ सदस्यीय प्रदेश कमिटी चयनका लागि भएको अधिवेशनअन्तर्गत अध्यक्षसहित १६६ जना चुन्न चुनाव गरिएको हो ।