गाईघाट / उदयपुरमा बुधबार भएको बम विस्फोटमा काङ्ग्रेसका उम्मेदवारसहित सात जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका–६ मा बम विष्फोटन हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए । कार्कीसँगै अन्य दुर्इ जना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घाइते भएका छन् ।
कार्की निवर्तमान सांसद पनि हुन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार बम विष्फोटनमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । अन्य घाइतेको नाम खुलेको छैन् । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बताइएको छ ।
घाइते भएका उम्मेदवार कार्कीलार्इ हेलिकोप्टरबाट सिधै काठमाडौं पठाइएको छ ।