धरान / धरानमा डेङ्गुको प्रकोप दिन दिनै बढ्दैं जाँदासमेत स्थानीय सरकार जिम्मेवार नभएको भन्दैं सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । स्थानिय सरकार धरान उपमहानगरपालिकाबाट प्रभावकारी नियन्त्रणका उपाय अवलम्बन नगरिएको भन्दैं मेयर हर्कराज राई र उपमेयर आइन्द्र विक्रम बेघाको आलोचना भइरहेको छ । सामाजिक सञ्चालमा स्थानीय सरकार निकम्वा भएको भन्दैं प्रदेश र संघलाई चासो राख्न हेल्प पोष्टहरु आइरहेका छन् । 

 यसबिच कोशी प्रदेशका प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले धरानमा डेङ्गु महामारी फैलिएसंगै स्वास्थ्य संस्थाहरूमा सिटामोल, जीवनजल र डेङ्गु परीक्षण किट अभाव भएको कोसी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभएको छ । 

उहाँले स्वास्थ्य मन्त्रालयलाई लिखित जानकारी गराउँदै धरानमा डेङ्गु नियन्त्रण तथा रोकथामका लागि तत्काल आवश्यक सामाग्री उपलब्ध गराईदिन निवेदन दिनुभएको छ ।  यस्तै उहाँले सोही व्यहोराको संघीय सरकारलाई पनि पत्र पठाउनु भएको छ । शिक्षा मन्त्रीसमेत रहनुभएका सुनसरी क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य अशोककुमार राईलाईसमेत उहाँले ध्यानाकर्षण गराउनु भएको छ । 

उहाँले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गु परीक्षणका लागि तत्काल ५ हजार थान परीक्षण किट उपलब्ध गराउन माग गर्नु भएको छ । यस्तै जीवनजल १० हजार प्याकेटको माग गरिएको छ । सिटामोल १ लाख ट्याब्लेट माग सहित डेङ्गु उपचार र परीक्षणका लागि प्राविधिक जनशक्ति परिचालन गरी शिविरहरू सञ्चालन गर्न आग्रह गरिएको छ ।

प्रदेश सभा सदस्य बस्नेतको ध्यानाकर्ष गराए पछि मन्त्री राईले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बस्नेतले माग गर्नु भएको सामाग्री र प्राविधिक सहयोगका लागि स्वास्थ्य मन्त्रालयलाई ध्यानार्षण गराउनु भएको छ । चाढै मन्त्रालयले सामान पठाउने मन्त्री राईले जानकारी गराउनु भएको छ । 

यता बस्नेत कै पहलमा विपी प्रतिष्ठान, उपमहानगरपालिकको सहकार्यमा प्रतिष्ठानको स्वामित्वमा रहेको छाताचोकमा रहेको पुराना अस्पताल परिसरमा डेङ्गु शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । सोमबार प्रतिष्ठानका पदाधिकारीहरुसँग बसेर तत्काल संचालन गर्ने तयारी भएको बस्नेतले जानकारी दिनु भएको छ । 

यता मेयर हर्क साम्पाङले डेङ्गु महामारीलाई गम्भिर रूपमा नलिएको देखिएपछि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर चलाएकी पूर्व उपमेयर मञ्जु भण्डारीले सामाजिक सञ्जाल मार्फत महामारी नियन्त्रणका लागि ध्यानाकर्षण गराउनुभएको छ । 

‘स्थानिय तहले बोर्डमा सरकार लेखेर, भाषण गरेर मात्रै सरकार हुँदैन’ भन्दैं मेयर हर्क साम्पाङलाई व्यङ्ग्य गर्दै पूर्व उपमेयर भण्डारीले लेख्नुभएको छ  ‘सङ्कट, महामारीमा जनतालाई साथ दिइएन भने लोकप्रिय प्रचारले केही हुँदैन ।’

उहाँले आफ्नो कार्यकालमा डेङ्गु प्रकोपलाई कसरी नियन्त्रण गरियो भनी स्मरण समेत गराउनुभएको छ ।  उहाँले २०७६सालमा डेङ्गु प्रकोप ४०० जनामा पुग्ने बित्तिकै स्वास्थ्य सङ्कट वडा घोषणा गरी उक्त वडामा कार्यक्रम केन्द्रित गरी नियन्त्रणमा लिइएको स्मरण गराउनु भएको छ । तर हाल संक्रमितको संख्या तनि हजार नाघि सक्दा र ८ जनाको ज्यान जाँदासमेत स्थानीय नेतृत्व वेखवर बने पछि उहाँले ध्यानाकर्षण गराउनु भएको हो ।

डेङ्गुको प्रकोप बढेसँगै निजी स्वास्थ्य संस्थामा परीक्षण शुल्क आकासिएको, फलफूलको जुसको मूल्य महँगिएको उल्लेख गर्नु भएको छ । मेयर साम्पाङले फेसबुकमा आदेश दिने गरेको कुरालाई ब्यङ्ग्य गर्दै पूर्व उपमेयर भण्डारीले लेख्नुभएको छ -  ‘व्यवसायीहरूलाई र उपमोक्ताहरूलाई सहज बनाउन सामाजिक सञ्जालमा आदेश गरेर पुग्दैन, निजी क्षेत्रको स्वास्थ्य सेवा प्रदायक सम्पूर्ण व्यवसायीहरुसंग समन्वय बैठक गरी दररेट कायम गरेर मूल्यमा सहजता र सेवामा सरलता ल्याउन सकिन्छ, जो हामीले विगतमा गरेका थियौँ ।’

 ‘प्रचारले मात्र परिणाम दिँदैन । नियमित सकारात्मक र उत्प्रेरणा दिने अनुगमन जरुरी हुन्छ । परिणामका लागि काम गरौँ, प्रचार आफै हुन्छ । सरकार भएको अनुभूति दिलाउन लागिपर्नोस, स्थानिय सरकार ।’- उहाँले सुझाउनुभएको छ ।