इटहरी / इटहरी उपमहानगरपालिकाको सिएफएल खरिद प्रक्रियामा अनियमिता गरेको आरो लागेका लेखा शाखा प्रमुख लखनलाल चौधरीलाई फाँट सरुवा गरिएको छ । चौधरीको स्थानमा नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारदेखि काम थालेको उपमहानगरपालिकाले जनाएको छ ।

लेखा प्रमुखको स्थानमा जिल्ला समन्वय समिति सुनसरीको समन्वयमा कोष तथा लेखा नियन्त्रण कार्यालयले पठाएका लेखापाललाई खटाएको उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए ।

दशकभन्दा बढी लेखा शाखाको जम्मेवारी सम्हालेका चौधरी यस अगाडिका विभिन्न खरिद प्रकरणमा पनि विवादमा आएको बताइएको छ । सिएफएल खरिदमा भएको अनियमिततामा भने उनलाई हटाउन स्थानीयवासीले आन्दोलन गरेका थिए ।

मेयर चौधरी र उपमेयर लक्ष्मी गौतमले दोषी देखिएका फाँटका कर्मचारीलाई बचाउ गरेको भन्दै सवत्र आलोचना भएको थियो ।
लेखा शाखाबाट हटाइएका चौधरीसँगै जिन्सी शाखामा रहेर सिएफएल खरिद प्रकरणमा दोषी देखिएका मनोज दाहाललाई भने फाँट सरुवा गर्ने तयारी भएको मेयर चौधरीले बताए ।

इटहरीमा जनप्रतिनिधि आएको पहिलो तीन महिना साउन १ देखि कात्तिक ७ गतेसम्ममा खरिद गरिएका ९७ लाख मूल्यका सिएफएल बल्ब तथा सेट खरिदमा भ्रष्टाचार भएको भन्ने बाहिर आए पछि प्रशासशीय अधिकृतको संयोजकत्वमा छानविन समिति बनाइएको थियो । उपमहानगरले मंसिर ८ गते गठन गरेको छानबिन समितिले २० लाखको भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।

दीपक गौतम नेतृत्वको ७ सदस्यीय समितिले टेन्डर प्रक्रिया र कोटेसनको विधिसमेत नअपनाई गरिएको खरिद सार्वजनिक खरिद ऐनबिपरीत भएको निष्कर्ष निकालेको थियो । यसै विषयमा अख्तियार अनुसन्धान आयोगले समेत अध्ययन गरिरहेको छ । उपमहानगरबाट सबै कागज पत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।