काठमाडौँ / माघ शुक्ल पूर्णिमाका दिन बुधबार अाज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
“शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ”, उनले भने ।
  यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । “बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ”, उनले भने ।
चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ ।

यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ ।

अब हामी चन्द्र ग्रहणले राशीमा पार्ने असरबारे चर्चा गर्दैछौं ।

मेषः मेष राशिका व्यक्तिहरुले आफ्नो स्वास्थ्यमा बढी ध्यान दिनुपर्दछ । कुनै पनि कुरालाई लिएर मन चिन्तित र खिन्न बनाउनु हुँदैन ।

वृषः वृष राशिका व्यक्तिहरु कुनै प्रकारको पारिवारिक समस्यामा फस्न सक्ने सम्भावना बढी छ । साथै आफ्नो सन्तानसँग जोडिएका विषयलाई लिएर चिन्ता बढ्न सक्दछ ।

मिथुनः मिथुन राशिका व्यक्तिहरुलाई चन्द्रग्रहणले लाभ दिन्छ । साथीहरुको सम्बन्धबाट सुख र सहयोग प्राप्त हुनेछ ।

कर्कटः कर्कट राशीका व्यक्तिहरुलाई आजको चन्द्रग्रहण शुभ मानिएको छैन । जीवनसाथीलाई कष्ट हुने योग छ । खर्च बढ्ने र मानसिक तनाव हुनसक्ने छ ।

सिंहः सिंह राशी भएका व्यक्तिहरुको स्वास्थ्यमा समस्या आउनसक्छ । कुनै न कुनै कुराले तनाव रहिरहन सक्छ । कष्टको अनुभूति पनि हुन्छ ।

कन्याः कन्या राशी भएका व्यक्तिहरुलाई पैसाको संकट पर्नेछ । खर्चलाई नियन्त्रणमा राख्नु राम्रो हुन्छ । व्यय बढ्ने र मान सम्मानमा आँच आउने भएकाले विशेष सजग हुनपर्ने छ ।

तुलाः तुला राशी भएकाहरुलाई आजको चन्द्रग्रहण शुभ छ । आज धेरै खुसी प्राप्त हुनेछ । बिग्रेका कामहरु बन्ने छ । घर गृहस्थीको स्थितिमा सुधार हुनेछ ।

वृश्चिकः वृश्चिक राशी भइकाहरुलाई पनि चन्द्रग्रहण शुभ छ । धनलाभ मिल्ने योग छ ।

धनुः धनु राशी भएकाहरुलाई आजको दिन खासै राम्रो मानिएको छैन । धन हानी हुने योग छ । त्यसैले पैसाको लेनदेन गर्दा सावधानी हुनुपर्ने र सोचबिचारका साथ निर्णयमा पुग्नुपर्ने हुन्छ ।

मकरः मकर राशीमा नै चन्द्रग्रहण छ । त्यसैले आजको दिन राम्रो मकर राशी भएकाहरुलाई राम्रो छैन । दुर्घटना हुनसक्ने योग छ । सजग हुनुपर्ने र लापरवाहीबाट बच्नुपर्ने हुन्छ । शत्रुहरु सक्रिय भएकाले नोक्सान पुर्याउन सक्छन् । शारीरिक कष्ट पनि हुनसक्ने योग छ ।

कुम्भः कुम्भ राशी भएकाहरुलाई पनि आजको दिन राम्रो छैन । धन सम्बन्धी मामिलामा सावधानी अपनाउनुपर्ने छ । धन हानीको योग छ । आफ्ना नराम्रा आनिबानी आजैको दिनबाट सुधार्दा राम्रो हुन्छ अन्यथा त्यसैबाट नकारात्मक असर पर्ने छ ।

मीनः मीन राशी भएकाहरुलाई आजको चन्द्रग्रहण अनुकल रहनेछ । तर, धन सम्बन्धी मामलामा भने सावधानी रहनुपर्ने छ । धन हानीको आशंका छ ।