धरान  / प्रदेश नं. १ ले पाँच बर्षमा तीन मुख्यमन्त्री पायो । पहिलो मुख्यमन्त्री शेरधन राई र दोश्रो मुख्यमन्त्री भीम आचार्यले यस पटक संघमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । राईले भोजपुर क्षेत्र नं. १ बाट र आचार्यले सुनसरी क्षेत्र नं. २ बाट उम्मेद्वारी दर्ता गराउनु भएको छ । 

हालका बर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले भने प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

राईले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट मनोनयन पत्र दर्ता गर्नुभएको हो । मुख्यमन्त्री राई उक्त पार्टीको सचिव हुनुहुन्छ । भोजपुर जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँतीले उम्मेदवारी दर्ता गर्नुभएको छ । बाँकी एक प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

शेरधन राई एमालेबाट उम्मेद्वारी दर्ता गर्नु भएको हो । उहाँसँग माओवादीका सुदन किराती प्रतिस्पर्धा गदैं हुनुहुन्छ । स्वच्छ छवि भएका नेकपा एमाले स्थायी कमिटी सदस्य  राई २०५१ सालदेखि निर्वाचन जित्दैं आउनु भएको छ । केन्द्रीय सरकारका सूचना तथा सञ्चारमन्त्रीसमेत भइसक्नु भएका राई अघिल्लो निर्वाचनमा प्रदेश सभामा विजयी भई मुख्यमन्त्री हुनु भएको थियो । तीन बर्ष उहाँ मुख्यमन्त्री भएर काम गर्नु भयो । यस पटक भने उहाँले प्रतिनीधि सभा सदस्यका लागि उम्मेद्वारी दिनु भएको छ । 

नेकपा एमालेमा विवाद भई पार्टी संकटमा परेका बेला मुख्यमन्त्री हुनु भएको नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यले सुनसरी क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । उहाँसँग सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सीताराम मेहता प्रतिस्पर्धा गदैं हुनुहुन्छ । दुई महिना मात्र मुख्यमन्त्रीको पद सम्हाल्नु भएका आचार्यले छोटो समयमा लोकप्रिय काम गर्नु भएको थियो । विभिन्न मन्त्रालयमा लामो समयदेखि थन्किएका जनताका काम उहाँले निर्णय गराएर अगाडी बढाएर चर्चामा आउनु भएको थियो । संघीय सरकारको पर्यटन मन्त्रीसमेत भइसक्नु भएका आचार्य अघिल्लो निर्वाचनमा  सुनसरी क्षेत्र नं. १ ख बाट विजयी हुनु भएको थियो ।