धरान/धरान–१५ बुढासुब्बा चोक नजिकै मंगलबार बिहान लागेको आगो दियोको कारणले भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर घरधनीले विधुत सरेट भएर अागलागी भएकाे जनाएका छन् ।

आगलागीबाट करिव ९ लाख ५२ हजार रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय हस्तबहादुर बिकको नाममा रहेको टिनले छाएको काठको दुई तले घर जलेको हो । जसमध्ये माथिल्लो तला पूर्ण रुपमा जलेको वडा प्रहरी कार्यालय धरानका प्रमुख सई जसबहादुर लिम्बूले बताए ।

घरको दक्षिणपश्चिमको सानो कोठाबाट आगलागी शुरु भएको प्रहरीले बताएको छ । जहाँ दियो बालिएको थियो । बिकको ५ तोला सुन, चार तोला चाँदी, फर्निचर, टिभी, लत्ताकपडा, भाडाकुडा, खाद्यान्न, नगद ४२ हजार रुपैया, मोबाइल, नागरिकता, जन्मदर्ता, लाइसेन्सलगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ ।