● कृष्ण प्रधान, सिलिगुड़ी (उत्तर बङ्गाल) भारत
ट्रक, पिजु, बसगाड़ीको पछिल्तिर सुन्दर अनि बान्किलो पाराले लेखिएका लहर वा काव्यहरू ज्यादै आकर्षित र घतपर्दो हुन्छन्। यसै विषयलाई लिएर मैले  'वाहनकाव्य' लेखिसकेको छु। द्रूतगतिमा विकसित भएको सञ्चार प्रविधिले गर्दा  हिजोआज मुट्ठीभाष (Mobile) मा पनि यस्ता काव्यहरू लेखिएको पाइन्छ। आफूले जानेकालाई वाटस्एप वा मेसेञ्जरमा म्यासेज पठाउँदा हुँदी बड़ो रोचक एवम् घोचक पाराको काव्य नै पठाइएको देखिन्छ। यस्तोखाले काव्यलाई 'मुट्ठीभाषकाव्य' नाउँ दिनु उचित ठहर्दछ। यस्ताखाले म्यासेजमा प्राय: हिन्दी भाषानै धेर प्रयोग गरिएको  भेटिन्छ भने कति चाहिँ रोमन अक्षरमा अनि कति चाहिँ मिश्रित (अङ्ग्रेजी/ नेपाली/हिन्दी) रूपमा लेखिएको पनि देखिन्छ। यस मुट्ठीभाषकाव्यमा मनको उद्गार, उद्वेग आदि हुन्छन्।  तर यसरी पठाइएका मुट्ठीभाषकाव्यका जन्मदाता को हुन्, कहिले,  कसले, कहाँ,  कुन स्थितिमा  आरम्भ गरे सो किटेर चाहिँ भन्न सकिँदैन।  झण्डै-झण्डै यो लोकसाहित्य झैं देखिए पनि  लोकसाहित्यजस्तो मौखिक, परम्परागत रूपमा  सम्प्रेषित हुँदै आएको साहित्य चाहिँ होइन।

मुट्ठीभाषकाव्य स्वत: जनमानस (विशेष युवासमाज)मा  प्रचलित भएको रोचक काव्य। हो भन्ने म ठान्दछु। यसको आकार लघु हुन्छ,  यो मनोरञ्जनपूर्ण हुन्छ।  यो बान्किलो अनि सम्प्रेषणीय हुन्छ।  तर मुट्ठीभाषकाव्यमा हिन्दी भाषाकै धेर प्रयोग, कतै कतै कथ्य भाषा,  अशुद्ध भाषाको  प्रयोग भएको पाइन्छ।  एउटा उदाहरण-

"हाय डार्लिङ !
कि तुम इतनी स्वीट न होना
कि डायबिटिस हो जाये
इतने साल्ट भी नहीं
कि बिपी हाई हो जाये
पर इतने कड़वे भी
नहीं प्लिज
कि तुम्हें तित लग जाये।"

हिन्दी भाषामा लेखिएको अंश उपरोक्त अशुद्ध छ वा छैन त्यसबारे प्रेषकलाई कुनै ज्ञान नभए पनि यसबारे उनलाई कुनै सरोकार छैन। म्यासेज पठाउनुसित मतलब भएकोले भाषाको शुद्धताबारे कसैले ध्यान दिएको देखिँदैन। यसै मुट्ठीभाषकाव्यलाई नेपालीमा अनुवाद गर्दा यस्तो देखिन्छ  -

" ओ प्रिये! तिमी यति गुलियो  नहुनु
कि डायबिटिस होस्
यति नुनिलो पनि नहुनु प्रिये
कि ब्लडप्रेश हाई होस्
तर,यति तितो पनि
होइन है प्लिज
कि चाख्दा तिमीलाई तिते करेलाजस्तै लागोस्।"

यो म्यासेज सर्वप्रथम कसले कसलाई पठायो होला यो रहस्यको विषय भए पनि यस मुट्ठीभाषकाव्यमा आलङ्कारिक मात्र नभएर अन्त्यानुप्रासको पनि राम्ररी प्रयोग भएको पाइन्छ।  यसैको देखासिकीमा हो वा म्यासेज पठाउनै पर्ने वाध्यताले हो  वा आफ्नै प्रेयसीलाई मनोरञ्जन प्रदान  गर्ने उद्देश्यले वा ठट्टा गर्ने उद्देश्यले हो यस्तो रसिलो,  टेसिलो मुट्ठीभाषकाव्य लेखिएको देखिएको छ -

"मेरो हिरो !
तिमी काँक्रा बनेर आऊ,
म नून खोर्सानी भैदिन्छु
तिमी सिलोटो-
लोहोरो भै आऊ,
म जिरा धनियाँ
गोलमरिच भैदिन्छु ,
तिमी मोटर भएर आऊ
म पीच सड़क भैदिन्छु। "

शायद यो ठट्टा गरिएको हुनसक्छ । यसको जवाफ-

"तिमी सब्जीको मोमो
भएर आऊ
म सिरूवाको सुप भैदिउँला
तिमी रातो अनि पि...रो
आलुदम भएर आऊ,
म तित्तिरीको
झोल भैदिउँला
तिमी पेसेञ्जर भएर आऊ म टोटो भैदिउँला,
तिमी मोबाइल भएर आऊ
म रिङटोन भैदिउँला। "

उपरोक्त मुट्ठीभाषकाव्यमा हास्यव्यङ्ग्यात्मकताको राम्रो सम्मिश्रण पाइन्छ। कुनै कुनै मुट्ठीभाषकाव्यमा देखिएको म्यासेजमा अङ्ग्रेजी शब्द सँगसँगै  हिन्दी शब्दको पनि भरमार प्रयोग गरिएको पाइन्छ-

"SMILE EVER
उदास NEVER,
SPEAK EVER
गुनगुन  NEVER ,
SHARE EVER
छुपाना NEVER ,
BCOZ हम तुम
FREN FOREVER."

देवनागरी लिपि लेख्न नसक्नेले उपरोक्त 'उदास,  गुनगुन,  छुपाना अनि हम तुम'लाई यसरी रोमन अक्षर 'UDAS, GUNGUN, CHUPANA, HUM TUM' मा टाइप गरेर म्यासेज पठाएको देखिएको छ। यहाँ अङ्ग्रेजी र हिन्दीको सम्मिश्रण भएजस्तै नेपाली- अङ्ग्रेजी सम्मिश्रण भएको म्यासेज पनि नदेखिएको होइन।  जस्तो -
"उड़िजाने Butterfly ले सैलुङ काट्यो ,
तिम्रो मेरो मायापिरती
Trouser जस्तो फाट्यो,
तिम्रो Luv हन कस्तो चुँड़ी जाने इञ्जारजस्तो।"

मुट्ठीभाषकाव्य जीवन्त हुन्छ। मीठो र टेसिलो हुन्छ।  ठाउँ-ठाउँमा हास्यव्यङ्ग्यको खुराक पनि प्रशस्त मात्रामा प्रयोग भएको पाइन्छ । कुनै कुनै म्यासेजमा ता हिन्दी काव्यको अपूर्व नमूना पाइन्छ  -

"दिन हुआ  तो रात भी होगी
छाए है घटा  तो
वर्षात् भी होगी ,
मुझ से मिल पानेका
गम न करना
क्यों कि,  जिन्दगी
 रही तो फिर
कभी मुलाकात भी होगी। "

उपरोक्त काव्यांश कुनै कविको मौलिक कविताबाट टिपिएको हुनसक्छ।  तर यो मुट्ठीभाषकाव्य अन्तर्गत देखिन थालेपछि सार्वजनिक भैसकेको छ।यो काव्यांश सर्वप्रथम कसले कसले कसको काव्यांशबाट उद्धृत गरेर कहिले कसलाई म्यासेज पठाए होलान् सोबारे कुनै तथ्य नभए पनि अहिले हरेकको मुट्ठीभाषमा वास पाएको कुरा स्वीकार्नै पर्छ । मुट्ठीभाषमा कुनै पनि मौलिक काव्यांश मुट्ठीभाषकाव्यको पछ्यौरी  ओढ़ेर आएपछि सो प्राप्त गर्नेले उनका नजिकका सबैलाई पठाउँछै-पठाउँछ। यसमा  कुनै रोकटोक छैन।  कुनै शुल्क तिरिरहनु पर्दैन। यसरी टिपिएका काव्यांशहरूका स्रष्टाहरू अज्ञात रहन्छन्।
   
उर्दू शायरीको एउटा अंशले पनि म्यासेजमा ठाउँ पाएर मुट्ठीभाषकाव्य रूपमा काँचुली  फेरेको देखिन्छ,  यसरी -

"कुछ जुर्म नहीं इश्क
       जो दुनिया से छुपाये
हम ने तुमको चाहा है
       हजारों में कहेंगे।"

अर्को यस्तै हिन्दी मिश्रित  एउटा उद्गार -

रात क्या होए कि
बाकी उम्र निंद उड़ गई।
तुम्हारा call wait करते करते
मेरे होश हवाश चली गई।

नेपाली, हिन्दी बाहेक रोमण लिपिमा पनि पठाइएका एसेमेसले पनि मुट्ठीभाषकाव्यमा आफ्नो स्थान सुरक्षित राखेको देखिन्छ। यस्ता लेखाइमा अनुस्वार, चन्द्रबिन्दु प्रयोग गर्न भने सकिँदैन  -

DOST DOST NAHI
KHUDA HOTA HAI
EHASAS TAB HOTA HAI
JAB O JUDA HOTA HAI
BINA DOSTIKA JINA
EK SAJA HOTA HAI
DOST AAP JAISA HO TO
JINE ME MAJA HOTA HAI  ।

विशेष चाड-पर्ब, नयाँ वर्षमा शुभकामना दिने निहुँमा पठाएको एसेमेस-
टाउकोभरि तेल होस् नाङलोभरि सेल होस्
देउसी भैलो भट्टियोस्
दक्षिणामा कुनै कञ्जुस्याइँ नहोस्
घरपतिनी आमैको कृपा होस्। ।

यसको जवाब -
बाइकमा फुल ट्याङ्की तेल होओस्
टाउकामा हेलमेट पक्कै होओस्
पुलिसको रेड फेल होओस्
पोलुशन फेल नहोस्
बड़ा दशैंको उपलक्ष्यमा
बाइकले धोका नदेवोस्।

हिन्दी पनि के कम्ति र -

मन्दिर की घण्टी,
आरती की थाली
गङ्गा किनारे
सूरज की थाली
जिन्दगी में  आये
खुशीयों कि बहार
आपका बधाई हो
नवरात्री के त्यौहार।

नयाँ वर्षको उपलक्ष्यमा प्रेमिकाको उद्गार  -

With my
1 heart,
2 eyes,
5 litres blood
32 teeth
206 bones
5.5 millions RBC
60 trillions DNA
I WISH A VERY
HAPPY NEW YEAR.

प्रणयोदगार पनि  -

पिउनै नहुने त्यो
पानीको के काम?
म्यासेजको रिप्लाई
नै दिन नसक्ने
तिम्रो त्यो थोत्रे
मोबाइलको के काम?

मित्रताको नाममा  -

Long Love is Mother's Love
Short Love  is
Others Love
Sweet Love is Lover's Love
But strong Love is
Our friendship's Love.

अर्को उदारण  -

JIndagime agar
koi dost
Na ho to
LIFE IS JAIL
Aur agar dur
dost ho to
NOTHING IS WELL
But app jaisa
dost ho to
LIFE ALL IS WELL.

हास्यव्यङ्ग्यात्मक नमूना-

सामान्य ठाटाकठुटुक
के भयाथ्यो प्रिये
कुम्लोकुटुरो बोकी स्वीत्तै
माइत सुइँकुच्चा ठोक्या
कति रिङ् गर्या  
तिम्रा cell मा
call diverted भनी
कम्प्युटर बोलिदिया
कति कपटी cell तिम्रो
not available
भनी टारिदिया।

एसेमेसको ता कुरै
छैन प्रिये
reply को ता
नामोनिशान  छैन
call गर्ने try
गर्या रातभरि
cell switched off राखिदिया  
लुतो न कनाइ गरी।

उताबाट कस्तो रिप्लाई आयो को'नि थाहा भएन।
यसबाहेक पनि मुट्ठीभाषमा प्रेरणादायी अमृतवाणी,  हाँसउठ्दा ठट्टाहरू, मुक्तकहरू समेत आफ्ना दौंतरीलाई पठाइएको देखिएको छ। यहाँ सङ्कलित गरिएका एसेमेसहरूमा काव्यात्मक लक्षण पाइनुका साथै यसभित्र मनोरञ्जनका खुराकहरू पनि भक्कुचूर मात्रामा पाइन्छ। यी एसेमेसहरू कतिका निमित्त  बसिबियाँलो मात्र हुन्  भने कतिका निमित्त प्रणयद्वार खोलिने  अपूर्व मौका पनि हो। यस्ता एसेमेसहरू कतिले कतिको घरबार भताभुङ्गै पारेको सुनाएको छ भने कतिको चाहिँ घरबार जोड़िएको पनि सुनिएको छ।

दिनभरि रातभरि यस्ता मुट्ठीभाषकाव्य कति लेखिँदा हुन् ती सबैलाई एकमुष्ठ पारी छापिनु हो भने वृहादाकार महाकाव्य पनि बनिन सक्छ भन्ने मेरो दाबी छ ।

जे होस्, मुट्ठीभाषमा पठाइएका मुट्ठीभाषकाव्यहरूका लेखन्ते तथा आफ्नो मुट्ठीभाषमा पोष्ट गर्ने/गराउने, यसका सर्जक  सबै-सबैलाई आन्तरिक हृदयबाट बधाइ भक्कुचूर।