धरान / सुनसरी उद्योग वाणिज्य संघको ४२औँ साधारण सभाको अवसरमा धरानको आर्थिक, सामाजिक, स्वास्थ्य तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको छ ।
पत्रकारिता क्षेत्रबाट पर्यटन, आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै ब्लाष्ट दैनिक का सम्पादक देवेन्द्र कार्कीलाई नगदसहित सम्मान गरिएको हो । विगत २५ वर्षदेखि धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय कार्कीले पछिल्लो समय धार्मिक पर्यटन प्रवर्द्धनका उद्देश्यले नेपाली तथा बङ्गाली भाषामा ‘पूर्वी नेपालका धाम’ नामक पुस्तक प्रकाशनको तयारी गरिरहनु भएकाे छ । यस्तै आर्थिक क्षेत्रमा कलम चलाएको भन्दै राष्ट्रिय समाचार समितिकी सुनसरी संवाददाता स्वर्णिम राई (संगीता) लाई पनि नगदसहित सम्मान गरिएको छ । उहाँ विगत ११ वर्षदेखि धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील रहँदै आएकी छन् ।
साधारण सभामा २०२० सालमा स्थापना भएको सुनसरी उद्योग वाणिज्य संघका तत्कालीन सल्लाहकार तथा धरान ट्रेडिङका सञ्चालक निर्माणकुमार अग्रवाल, पुराना उद्योगी सूर्य मेटलका निर्देशक रोहित ताम्राकार, पुरानो मिलका सञ्चालक देविराम अग्रवाल, घरेलु प्रविधिबाट स्थानीयस्तरमा साबुन उत्पादन गर्दै आएकी युवा उद्यमी मनिता घिमिरे तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका डा. खालिद हुसेन र डा. तपन तरफदारलाई सम्मान गरिएको थियो ।
यस्तै, पुराना व्यवसायी मानमोहन श्रेष्ठ र हिरा उदासलाई संघको मानार्थ सदस्यता प्रदान गरिएको संघका निवर्तमान अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालयका महानिर्देशक मदन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संघका अध्यक्ष गोपाल श्रेष्ठले सहभागीलाई स्वागत गर्दै संघको आधिकारिक धारणा सार्वजनिक गर्नुभयो । उहाँले धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासका लागि रामधुनी–बराहक्षेत्र–विष्णुपादुका तथा विजयपुर सर्किटलाई जोड्ने लिंक रोड निर्माण आवश्यक रहेको बताउनुभयो । साथै धरानमा प्रदर्शनी स्थल, औद्योगिक ग्राम, धरान–तमोर सुरुङ मार्ग तथा ड्राइ पोर्ट निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष श्रेष्ठले कर तथा राजस्व प्रणालीमा देखिएका कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका समस्या सम्बन्धमा महानिर्देशक दाहाललाई नीतिगत सुधारका लागि सुझाव दिनुभयो । उहाँले एउटा आर्थिक वर्षमा सामान्य मिसम्याच हुँदा १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र शतप्रतिशत जरिवानासहित ब्याज तिर्नुपर्ने अवस्थाले व्यवसायीलाई घरजग्गा तथा व्यवसाय धरौटी राख्न बाध्य बनाएको उल्लेख गर्दै यस्ता अव्यावहारिक कानुन संशोधनका लागि पहल गर्न आग्रह गर्नुभयो । वार्षिक ३० लाखभन्दा कम कारोबार हुने करदाताका विषय, पारिवारिक छुटलगायतका विषय पनि उठान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले व्यवसायीले उठाएका विषय सम्बन्धित निकायमा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साधारण सभामा महासचिव प्रभाव खतिवडाले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म भएका गतिविधिबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा उद्याेष सङ्गठन कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, संघका निवर्तमान अध्यक्ष विजय श्रेष्ठ, नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।




















