धरान  /  धरान उपमहानगरपालिका–९ स्थित आचार्य लाइनमा रहेको दुईतले घरमा सञ्चालन हुँदै आएको कपडा पसलमा बुधबार आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।

बुधबार बिहान करिब ११ः५० बजे विद्युत् सट भई आगलागी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। आगलागीबाट स्थानीय रामकुमार चौधरी (लखन) को घरमा सञ्चालित कपडा पसल पूर्ण रूपमा जलेर नष्ट भएको हो।

नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा धरान उपमहानगरपालिकाको दमकलको सहयोगमा करिब १२ः१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका डिएसपी भीषणबाबु राईले जानकारी दिनु भयो । समयमै आगो नियन्त्रणमा लिएकाले आसपासका अन्य घरमा थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । 

सिरक, डसना तथा अन्य कपडाको कारोबार हुँदै आएको उक्त पसलमा आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको पसल सञ्चालक चौधरीले जानकारी दिनु भयो ।