यो जीवन एउटा कारागार हो । यो कारगारमा हामी कुनै न कुनै प्रकारले बन्दी छौं । कोही भीआईपी बन्दी ता कोही अर्डिनेरी बन्दी । को बन्दी छैन यहाँ ? अहिले जो जन्मिएका छैनन् उनीहरू मात्र बन्दी छैनन् अर्थात् स्वतन्त्र छन् । जीवन एउटा कारागार मात्र होइन पिञ्जरा पनि हो ... लाइए इज अ केज । कोही सुनको पिञ्जरामा अण्डा पार्छन्, कोही फलामे पिञ्जरामा ।
हामी कहाँबाट आयौं, कसकहाँ आयौं, झुपड़ीमा, अट्टालिकामा कि फुटपाथमा त्यो हामी जान्दैनौं । च्वाक्-च्वाक गरेर आमाको दूधको लाम्टा चुस्यौं, रोयौं, सुती-सुती ढेँढ़े भयौं । छिप्पियौं । तेस्रो विश्वका मानिसहरू त्यति बढ़्दैनन् । कारण प्रोटिन छैन । टाउका मात्रै ठूलो अजङ्को, गिदी सानु । आन्सटाइन, रसेल, टाइसन, होलिफिल्ड, देवकाटा आदि सबैलाई पहिलो विश्वका मान्नुपर्छ । हाम्रो तेस्रो विश्वमा सबै चार. धेरभन्दा धेर पाँच फूट । गोर्खा हाइट ता झन् कटमिरा । यूरोपका प्रमाण नापका मानिसहरूका सामु हामी गोर्खाहरू फिप्सिङ अनि उनीहरू तोङ्बाजस्ता देखिँदैन र ? उनीहरू लाम्चे खोरसानी अनि हामी गोर्खेहरू चाहिँ जिरे, अकबरे वा डल्ले खोरसानी । पक्कै डल्ले खोरसानी ; हण्ड्रेड पर्सेण्ट । यसमा कुनै दुइ नम्बरी छैन ।
सान्तवना के मा लाग्छ भने, लाम्चे खोरसानी थोरै पिरो हुन्छ । जिरे, अकबरे र डल्ले खोरसानीको पिरो तिक्खर हुन्छ, टड़कारो । यसैले हामी गोर्खाहरू जिरे, अकबरे र डल्ले खोरसानीजस्तो जिरा...पिरो (रिसाहा) । हामी रिसको पोको । यसैले ता हाम्रो पिरोको रापले हाम्रा छर-छिमेकहरू तर्सिन्छन् । हाम्रो रिसको पोको देखेर संसारैको सातोपुत्लो उड़्छ...उड़ेको छ । यही रिसको पोकाले गर्दा हामी आपस्तमा हानाहान-तानातान गरेर हाम्रो एकतालाई चिण्डे बनासकेका छौं । न माथि उक्लन सक्छौं । भीरको चिण्डो उँधो न उँभोजस्तो भनेजस्तो माथि नै तुर्लुङ्ङै झुण्डिबस्छौं । न आफू माथि उक्लिन सक्छौं न ता माथि चढ़्दै गरेका अरुलाई माथि चढ़्न नै दिन्छौं । दाउ परे माथि चड़्नेको खुट्टामै तानेर भूइँमा पछारिदिन्छौं । यसरी नै हाम्रो जीवन यात्रा येनकेन प्रकारेण चलिरहेछ ।
जीवन यात्रा भनेको नै भऱ्याङ हो । क्रमश: क्रमश: माथि उक्लाइ । यो माथि उक्लिनु बड़ो मज्जा छ । अन्त्यमा कुनै छानु छैन । मात्रै उक्लाइ...लक्ष्य्हीन उक्लाइ । यो उक्लाइमा धेरै वाधा विपत्तिले लङ्की लगाइरहनाले एक ठाउँमा तुर्लुङ्ङे झुण्डिरहनु मात्रै पर्ऎछ । हात फुस्कियो कि गार्लाम्-गुर्लुम तल...कता हो कता तल । सब स्वाहा । यो यस्तो एउटा खेल हो, सफलतामा पनि थपड़ी छैन, असफलतामा पनि थपड़ी छैन । वान्स मोरको चान्सै छैन ।
गाड़ीको ब्याट्री बद्लिन सकिन्छ तर मान्छेको ब्याट्री बदलिन सकिँदैन । बाघमुखे थैलीसमेत बुझाएर नर्सिङ होम नामक वर्कसोपबाट ब्याट्री जसो-तसो चार्ज गरेर ल्याइन्छ । तर एकदमै डेलिकेट । त्यसपछि डाउन...डाउन...डाउऩ..... अनि निल डाउन अनि डाउन टु अर्थ । माटोको शरीरमा मोटोमै मिल्छ ।
हाम्रा मानिसहरू अचेल निदाउन छोड़िसकेका छन् । निदावोस् पनि कसरी ? मुठी खोलिँदै आउँदैछ । बिहान ओछ्यान छोड़ेदेखि बेलुकी ओछ्यान परिञ्जेल डरै-डर । भऱ्याङबाट गार्लाम्-गुर्लुम् झर्ने हो कि भन्ने त्राही-त्राही । ओँठका माथ्लो र तल्लो तल कलेटी परिसकेका छन् । मानिस वृद्घ नभए सुन्दर हुँदैनन् । ऐना सामु उभिँदा मात्रै छ्याङ्ङै हुन्छ । सेण्ट-पर्सेण्ट रियालिटि । ऐना सामु अनुहार पर्दै पहिले ता आफै तर्सिनुपर्छ - यो मोरा को हो ? कुचो वा खरेटोको क्षुद्र संस्करण कि बाँदरको संशोधित एवम् परिवर्द्धित संस्करण ! कहाँ गए ती मेरा सुनौला दिनहरू ? भित्तामा यौवनकालको सुन्दर कलकलाउँदो अऩि झर्झराउँदो नक्सा झुण्डिएको छ । छात्तीमा अड़ेसिएकी छिन् युवती अर्धाङ्गिनी । निधारमा ठूलो टीको । हामपोक्ची गाला । दुइ नयनमा प्रारम्भिको प्रणयको बामे सराइ । बिहे भएको तीन चार महिनापछि स्टुडियोमा गई पोज लिएर खिँचेको । अहिले यो यौवन 'लिक' भएर डाँड़ा काडटिसकेको छ । संसारको थर्ड डिग्रीमा अफसाइड हुन थालिएको छ । कुन दिन रेड कार्ड दर्शन हुने हो...केही थाह पत्तो छैन । त्यसमा पनि डरसरि छ ।
लाटोकोसेरो झैं आँखा ठूल्ठूला पारेर ऐनाभित्रो आफैलाई सोध्न मन लाग्छ - '' तँ को होस् ? हु आर यू ?''
कानमा कसैले भनेजस्तो लाग्छ - हाइब्रिड मागुर माछो । दृष्ट छ तर प्राण छैन । कामना, वासना कहाँ गए नाराण ! कहाँ गए तिम्रा सुपर हिट लोभहरू ? तिम्रा अहङ्कार, घमण्ड, फ्वाँक र हाँक कुन दुलामा पसे ?
ऐनाको मान्छेको हुलिया देखेर एकजना मरञ्च्याँसे दीन-हीन भिखारी उभिरहेको जस्तो लाग्यो । आँखा चिम्लेर हेर्दा त्यो मरञ्च्याँसे भिखारीको मुहारमा मेरा बाजे हजूरलाई छर्लङै देखेँ । दुरुस्तै उनको अनुहार देखेँ । पराजित एकजना मान्छे । बाजे पहिले ता मुस्कुराए...एकक्षणपछि नमिठो घतले गर्जे - ए डल्ले खोरसानीको संस्करण ! जीवनभरि के गरिस् बबुरो ? साहित्य-संस्कृतिमा चुर्लुम्मै डुब्नु भनरे तँलाई मूलालाई कसले सिकायो हँ ! ए लठुवा । दुइ नम्बरी गर्ने तेरा साथीहरू कहाँ पुगिसके...तँलाई थाहा छ ? तँ भने बिजुलीको खाँबोजस्तो जहीँको तहीँ । बिहे गरिस्...लाला-बालाका धनी भइस् । यिनीहरूलाई मान्छे बनाउन रोजगार गर्नुपर्छ वत्स ! जिम्मेवारी पालन गर्नुपर्छ । जुत्ता, लात, घुस्सा, मुड़्की, टोकेस्, किसिम भनाइ खानुपर्छ । यसरी कण-कण आदर्शवादी मर्दै जान्छ । पहाड़जस्तो समस्याले गह्रौं भारले थिचिएर मान्छे कुप्रिँदै-कुप्रिँदै द्विपद प्राणीबाट क्रमश: क्रमश: चतुष्पद गधाको रुपमा काँचुली फेर्दै जान्छ । तँलाई थाहा छैन ? मानिसको पुच्छरे जिन्दगी कति डरलाग्दो हुन्छ ।
जीवन्त कुचो वा खरेटोले ट्वाल्ल परेर हेरिरह्यो । यौवनकालको ऐश्वर्य निमिट्यान्नै भएर अपराधी बालकजस्तो मेरो छेवैमा उभियो । लाजले निगुरमुण्टो लाे आफैलाई सुस्तरी हकारेँ - गधा ! बोल्न सक्दैनस् ?
ऐनाभित्रको 'म' बोल्यो -के बोल्नु ? तिमी ता डल्ले खोरसानीको जाति भनेर घमण्ड गर्थ्यौ...खै तिम्रो तिक्खर पिरो ?
सुस्तरी बोलें म - डल्ले खोरसानीको खेती व्यापकरूपमा गर्नलाई मधेसका मतहाजनहरूबाट ऋृण वापत् लिएको रकम समयमा चुक्ता गर्न नसक्दा बारीका सबै डल्ले खोरसानी साउँको रुपमा पनि सूदको रुपमा पनि मधेसका महाजनले सोहोरेर अब यो डल्ले खोरसानीको पिरोको के आशा गर्छौ ?
ऐनाभित्रको 'म' बोल्यो - तिम्रो जिरे, अकबरे र डल्ले खोरसानीको खबर चाहिँ कस्तो छ नि ?
निगुरमुण्टो लाएर बोलेँ म - त्यो ता पोहोर-परार नै सीआरपीएफको बुटले किच्चिएर बारी नै सोतर भइसकेको छ ।
लाखेस ! अब जिन्दगीमा फेरि फेरि बोलाउने काम नगर्लास् । अर्को कुरो, खोरसानी र त्यसका तिक्खर पिराहरू ता मधेसको महाजनलाई बेचिस्-बेचिस् तर तँ आफू चाहिँ ठ्याम्मै बिक्री होलास्...बुझिस् ? - चोर औंली ठड्याउँदै बोल्यो ऐनाभित्रको 'म' ।
साँच्चै...डल्ले खोरसानीको सन्तान म । ऐनाभित्रको 'म'-को कुरा सनेर कन्सिरी तातिएर आयो । रिस थाम्न नसकी ऐनाभित्रको 'म'-लाई प्चाच्चै थुकिदिएँ । थुकको छिटा ऐनाबाट उछिट्टिएर आफ्नै अनुहारभरि लाग्यो ।