धरान / सुनसरीस्थित सप्तकोशी नदीमा आइतबारदेखि जेट बोट सेवा औपचारिक रूपमा सुरु हुने भएको छ। जेट बोट सञ्चालनको पूर्वतयारीस्वरूप सञ्चालकहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसँग भेट गरी आवश्यक समन्वय तथा अनुमति प्रक्रियामा मिलाइएको थियो ।
आइतबार बोट सञ्चालनका लागि दन्तकाली जलविहार प्रालिले स्थानीय प्रशासन र प्रहरीको रोहबरमा दुई वटा बोटको परीक्षण गर्ने कार्यक्रम तय गरिएको सञ्चालक अनिस थापाले जानकारी दिनु भयो । परीक्षण सफल भए पश्चात, प्रहरी प्रशासनको सिफारिसका आधारमा स्थायी सञ्चालन अनुमति प्रदान गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
हाललाई बराहक्षेत्र मन्दिर क्षेत्रबाट भोजपुरको हतुवागढीको कोप्चेसम्म मात्र जेट बोट सञ्चालन अनुमति पाइएको सञ्चालक अनिश थापाले जानकारी दिनु भयो । उहाँका अनुसार चतराघाटदेखि झन्डै दुई किलोमिटर माथिको १७ नम्बर स्थानमा पानीको बहाव अत्यधिक तीव्र भएकाले सो क्षेत्रबाट बोट सञ्चालनमा रोक लगाइएको हो।
थापाका अनुसार, हाल ४० सिट र ५५ सिट क्षमताका दुई वटा जेट बोट सञ्चालनमा ल्याइनेछ। पानीको बहाव कम भए पश्चात चतरा पुल क्षेत्रबाट थप चार वटा बोट पनि सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
स्थानीयवासीका अनुसार, बोट सञ्चालनले भोजपुरलगायत ग्रामिण भेगका बासिन्दालाई यात्रा तथा कृषि उपजको ढुवानीमा सहजता हुने छ। यसका साथै, बराहक्षेत्रसम्म पुग्न आन्तरिक पर्यटकका लागि पनि सरल विकल्प प्रदान हुने छ।
बराहक्षेत्र क्षेत्र धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएकाले जेट बोट सेवा सुरुआतसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने छ। बोट चढेर मन्दिर पुग्ने र कोशी नदीको दृश्यावलोकन गर्ने पर्यटकको संख्या बढ्ने विश्वास स्थानीय व्यवसायीहरूले व्यक्त गरेका छन्।
कम्पनीका अनुसार, प्रशिक्षित चालक, आवश्यक सुरक्षा सामग्री, जीवन ज्याकेट, संकटकालीन उद्धार प्रणाली र सीमित रूट तोकिएर बोट सञ्चालन गरिने छ। प्रारम्भिक चरणमा सीमित यात्रुसँग ट्रायल रूपमा सञ्चालन गरिएको भए पनि भविष्यमा मागअनुसार सेवा विस्तार गरिने जनाइएको छ।
जेट बोट सञ्चालनसँगै स्थानीय रोजगारी, कृषि उपजको सहज बजार पहुँच र धार्मिक पर्यटन प्रवर्द्धन हुने छ।