- कृष्ण प्रधान
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका आकाशका उज्यालो नक्षत्र हुन्। उनको कवित्व, प्रतिभा र संवेदनशीलता नेपाली भाषाको गौरव हो। तर बाल्यकालदेखि नै मैले सुन्दै आएको थिएँ — “देवकोटा गरिब कवि थिए।”
गुरुआमाले पनि त्यही सिकाउनुभयो, स्कुलका सरले पनि त्यसै पढाउनुभयो, अनि म स्वयं शिक्षक भएपछि आफ्ना विद्यार्थीहरूलाई पनि “देवकोटा गरिब थिए” भनेर सायद सयौँपटक भनिसकेको थिएँ। तर जब म भैरव पुरस्कारको सिलसिलामा काठमाडौं आएँ र महाकविको जीवन नजिकबाट बुझ्ने अवसर पाएँ, तब मलाई लाग्यो — “ठैट ! महाकवि देवकोटा त कहाँ गरिब र’छन् र !”
देवकोटाबारे मेरो पहिलो भ्रम
पाँचौँ कक्षादेखि नै देवकोटा मेरा प्रिय कवि थिए। ‘पाप लाग्छ’ भन्ने कविता म सानो उमेरमै कण्ठस्थ गरेको थिएँ। तर हरेकपटक गुरुआमाले “देवकोटा गरिब थिए” भन्नुहुन्थ्यो। पछि कक्षा नौमा ‘गरिब’ कविता पढ्दा सरले पनि त्यही कुरा दोहोर्याउनुभयो —“देवकोटालाई सरस्वतीले वरदान दिनुभयो, तर लक्ष्मी माताले टकटकाइन्।” त्यो वाक्य मेरो कानमा अझै गुन्जिरहेछ। त्यो बेलादेखि नै मैले देवकोटालाई आर्थिक रूपमा विपन्न कवि मानेँ। तर काठमाण्डौं आएर जब मैले देवकोटाको जीवनका विभिन्न पक्ष बुझ्ने अवसर पाएँ, त्यो विश्वास टुट्यो —र बुझें, म पनि आफ्नो विद्यार्थीहरूलाई गलत कुरा पढाउँदै आएको रहेछु।
काठमाण्डौंले दिएको साँचो ज्ञान

भैरव पुरस्कारले मलाई राजधानी पुर्यायो। त्यहाँ साहित्यिक मित्रहरूले मन्दिरदेखि गल्ली, चोकदेखि देवकोटा अध्ययन केन्द्रसम्म घुमाए। त्यही क्रममा मैले महाकविको जीवनबारे साहित्यकार नरेन्द्रराज प्रसाई, रोचक घिमिरे र श्रीओम रोदनसँग कुराकानी गर्ने अवसर पाएँ। त्यो भेटपछि मेरो मनमा एउटा कुरा छर्लङ्ग भयो — “महाकवि देवकोटा गरिब होइनन्, बरु अत्यन्त सम्पन्न र उदार व्यक्ति हुन्।”
देवकोटाको आर्थिक र सामाजिक स्थिति
देवकोटा असल शिक्षक थिए । दैनिक १६–१८ घण्टा ट्युसन पढाउँथे र त्यसैबाट मासिक २,१०० रुपैयाँ कमाउँथे —उबेलाको हिसाबले यो ठूलो रकम थियो।
त्यो मात्र होइन, उनी ८० विघा जमिनका धनी थिए । नरेन्द्रराज प्रसाईले ठोकुवा गरेर भनेका रहेछन् —“८० विघा जमिन हुने मानिस कसरी गरिब हुन्छ रु”
त्यसैगरी, रोचक घिमिरेका अनुसार —देवकोटाको घरमा गाई–भैंसी, गोठालो, भान्से, बज्यै, नोकर–चाकर थिए । गाईलाई घाँस होइन, काउलीका पात खुवाइन्थ्यो। उनको साइकल ब्रिटिश रेली कम्पनीको थियो —पाँच–छ सय रुपैयाँ पर्ने त्यो साइकल राणाका भारदारहरू मात्र चढ्थे।
यी कुरा सुनेर म दंग परेँ —यस्तो विलासी जीवन बिताउने कविलाई “गरिब” भन्ने हामी कति मूर्ख ! गरिबी होइन, खर्चको असंयम श्रीओम रोदनको भनाइले मलाई अझ स्पष्ट पारेछ —“देवकोटा त्रिचन्द्र कलेजका प्राध्यापक, लेखक समिति सदस्य, मन्त्री र शिक्षक थिए। उनी आर्थिक रूपमा सक्षम थिए, तर खर्च गर्न अत्यन्त उदार। पैसा हातमा पर्यो कि तुरुन्त अरूलाई बाँडिदिने। धर्मकर्ममा, सहयोगमा र दानमा उनी हदभन्दा बढी उदार थिए।” त्यो कारणले कहिलेकाहीँ घरको आर्थिक स्थिति अस्थिर भए पनि, त्यो गरिबी होइन, उदार मनको परिणाम थियो।
‘गरिब कवि’ को भ्रम कहाँबाट सुरु भयो ?
मलाई थाहा लाग्यो —देवकोटा गरिब थिए भन्ने अफवाह सुरु भएको थियो कवि केदारमान व्यथितबाट। एकदिन व्यथितजी देवकोटाको घर पुगेछन्।
त्यो बेला देवकोटा कट्टु नलगाई ओढ्ने ओढेर लेखिरहेका रहेछन्। भान्से बज्यैले बारम्बार खाना खान बोलाउँदा पनि उनी लेखनमा तल्लीन रहेछन्।
त्यो देखेर व्यथितले सोचेछन् — “देवकोटासँग लुगै छैन, ता गरिब रहेछन्।” त्यसपछि उनले भाषणमा भनीदिए —“मैले देखेको कवि देवकोटा महा–गरिब थिए।”
त्यो एक वाक्यले पुस्तौँ पुस्तासम्म भ्रम फैलायो। तर सत्य त्यो होइन। म भन्छु —“व्यथितजीले देखेका देवकोटा नाङ्गा होइनन्, सृजनामा लीन कवि थिए।”
मेरो अन्तिम बोध यी सबै कुरा बुझिसकेपछि मेरो मनमा एउटा वाक्य बारम्बार गुञ्जिन्छ —“ठैट ! महाकवि देवकोटा ता कहाँ गरिब र’छन् र !”
८० विघा जमिन, गाई–भैंसी, गोठालो, भान्से, ब्रिटिश साइकल, प्राध्यापक, मन्त्री —यस्ता व्यक्तिलाई गरिब भन्नु त सरासर अन्याय हो। देवकोटा धनमा मात्र होइन, विचार, मानवीयता र साहित्यिक प्रतिभामा पनि महाधनी थिए।
अब म आफ्ना विद्यार्थीहरूलाई कहिल्यै पनि “देवकोटा गरिब थिए” भनेर पढाउने छैन। बरु भन्छु —“देवकोटा धनको होइन, मनको धनी थिए।
उनले जीवनभर सिर्जनाको दान बाँडे, अनि हामीलाई शब्दको उज्यालो दिए।” त्यसैले, अब हामी सबै आत्मविश्वासका साथ भन्न सकौं — “महाकवि देवकोटा ता कहाँ गरिब र’छन् र !” सिलुगुरी, भारत


















