धरान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको कलेज अफ नर्सिङ्गमा अत्याधुनिक नर्सिङ्ग स्किल्स ल्याब सुरु गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले रिबन काटेर बुधबार ल्याबको औपचारिक उद्घाटन गर्नुभएको हो।
नर्सिङ्ग शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक तथा गुणस्तरीय बनाउने उद्देश्यले स्थापना गरिएको उक्त ल्याबमा बिरामी हेरचाहसँग सम्बन्धित विभिन्न प्रायोगिक अभ्यासका सामग्री राखिएका छन्। यसमा मानिसको अस्थिपञ्जर प्रणालीको मोडेल, म्यानिकिन, आधुनिक उपकरण तथा सिमुलेसन सामग्रीसहित नर्सिङ्ग केयरका लागि आवश्यक उपकरणहरू समावेश गरिएको छ।
उद्घाटन कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा।डा। सूर्य प्रसाद संग्रौला, शैक्षिक डीन प्रा।डा। अनुप घिमिरे, परीक्षा डीन प्रा.डा. अन्जु प्रधान, कलेज अफ नर्सिङ्गका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापा, विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटनपछि उपकुलपति श्रेष्ठसहित उपस्थित पदाधिकारीहरूले ल्याबको निरीक्षण गरेका थिए। सो क्रममा मेडिकल सर्जिकल नर्सिङ्ग, चाइल्ड हेल्थ नर्सिङ्ग, मेटर्नल हेल्थ नर्सिङ्ग तथा साइकियाट्रिक नर्सिङ्ग विभागका शिक्षकहरूले आफ्ना विभागअन्तर्गतका सामग्रीबारे जानकारी गराएका थिए।
निरीक्षणपछि आयोजित कार्यक्रममा कलेज अफ नर्सिङ्गका चिफ प्रा। चौधरीले प्रस्तुतीमार्फत स्किल्स ल्याबको उद्देश्य र महत्वबारे जानकारी दिनुभयो। उहाँले नर्सिङ्ग शिक्षामा प्रायोगिक सीपको महत्व अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै यस्तो ल्याबमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीसँग काम गर्नुअघि सुरक्षित वातावरणमा विभिन्न नर्सिङ्ग प्रक्रिया अभ्यास गर्न सक्ने बताउनुभयो।
उहाँका अनुसार सिमुलेसनमा आधारित अभ्यासले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै बिरामी सुरक्षालाई पनि थप सुनिश्चित गर्नेछ। स्किल्स ल्याबमा अभ्यास गरेपछि विद्यार्थीहरूले आधारभूतदेखि उन्नत तहसम्मका नर्सिङ्ग सीपहरू आर्जन गर्न सक्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको समापनमा उपकुलपति श्रेष्ठले स्किल्स ल्याबको प्रभावकारी उपयोगबाट नर्सिङ्ग विद्यार्थीहरूको सीप विकास, अनुसन्धान प्रवद्र्धन तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।



















