धरान  / डिपो आदर्श बहुमुखी क्याम्पसले प्रदेश १ स्तरिय मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कप २०७९’ आयोजना गर्ने भएको छ ।

डिपो विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष दिवंगत लिम्बुको स्मृतिमा श्रावन १५ गते देखि १९ गते सम्म प्रतियोगिता हुने आइतवार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ । 

धरान बास्केटबल संघको प्राविधिक सहयोगमा हुने विद्यालय स्तरिय प्रतियोगितामा यसै वर्ष एसईई दिएका विद्यार्थी खेलाडीहरुले सहभागी हुन पाउने डिपो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।  डिपो स्कुल यहाँसम्म आइपुग्न दिवंगत मेजर श्रवणकुमारको ठूलो योगदान रहेको हुनाले उहाँको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष लिम्वुले बताउनु भयो । 

 प्रतियोगिता आयोजनाको पहिलो संस्करणमा हाम्रो परिवारको पनि केहि सहकार्य रहने छ । परिवारले प्रतियोगिता नियमित आयोजनाका लागि भने चाडै नै छुट्टै अक्षयकोष स्थापना गर्ने दिवंगत मेजर श्रवणकुमारका छोरा सुधिर लिम्वुले पत्रकार सम्मेलनमा उद्धघोष गर्नु भयो ।   

     प्रतियोगिताका विजेता टिमले नगद पन्द्र हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा सहभागीताको

 अन्तिम मिति श्रावन १२ गते रहेको छ भने, १३ गते खेल तालिका सार्वजनिक गरिने डिपो क्याम्पसका प्रमुख राजकुमार राईले जानकारी दिनु भयो । प्रतियोगिता दर्ता शुल्क १५ सय लाग्नेछ ।

दिवंगत लिम्बु २०५९ देखि २०७८ सम्म डिपो सार्वजनिक शैक्षिक गुठीको संस्थापक अध्यक्ष रहनु भयो । यस्तै, २०४७ देखि २०६२ सालसम्म विद्यालय व्यवस्थापन समितिको वरिष्ठ सल्लाहकार तथा २०६२ देखि २०७८ साल सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा रहनु भएको थियो । 

पत्रकार सम्मेलनमा बोर्ड अफ ट्रस्टिजका कार्यवाहक अध्यक्ष भिमराज लिम्बु, विद्यालय व्यवस्थापन समिती सदस्य वीरेन्द्र बिक्रम लिम्बु, सदस्य सूर्य पन्धांक लिम्बु, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, धरान बास्केटबल संघका संस्थापक डिएसपी खगेन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।