धरान / धरान ११ का असक्त ज्ञानबहादुर माझी र धरान १५ का पूण्य प्याकुरेललाई धरानकी लक्ष्मी राईले सिरक वितरण गरेकी छन् । आर्थिक अवस्था नाजुक भएका ती परिवारलाई उनले साथीहरुसँग सहयोग संकलन गरि सहयोग जुटाएकी हुन ।

दुवै जना शारिरीक रुपले असक्त छन् । आर्थिक रूपलेसमेत अत्यन्तै विपन्न रहेका माझीको दुवै हात भएपनि चल्दैन भने प्याकुरेल दुई वर्ष अघि सवारी दुर्घटनामा परी कम्मरदेखि मुनिको पूरा भाग नचलेर घरैमा थलिएका छन् । उनी ओइछ्यानमा छन् । माझी भने दुवै हात नचलेपनि पत्र पत्रिका घरघरमा पु¥याएर त्यो पत्रिका बेचेको कमिसनबाट छाक टार्दै आएका छन् ।

उनीहरू दुवै जनाको घर धरानका केही पत्रकार र यातायात मजदुरको अगुवाइमा घर निर्माण गर्ने कार्य पनि भइरहेको छ । घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पत्रकार भीम राई ज्वाला, दिपक बनेपाली,जनकऋषि राई, विकास चाम्लिङ राईलगायतका धरानका पत्रकारले तिहारमा देउसी खेलेको रकमबाट दुवै जनाको घर निर्माण अभियान शुरु गरेका थिए ।

हालसम्म माझी र प्याकुरेलको घर निर्माण गर्न लगभग १० लाख भन्दा माथि लागत लागेको छ । ज्ञानबहादुर अहिले रंग रोगन लगाउने काम भइरहेको छ । माझीको घर अहिले उनको टोलमा टप भएको छ । सेता रंगको घर चिटिक्क परेको देखिन्छ ।
उनको घर तीन कोठाको तयार भएको छ । लम्बाई २४ फुट र चौडाई १७ फिटको बनेको छ । उनको जीविकोपार्जनका लागि बरण्डामा एक कोठा निकालेर पसल खोल्न मिल्ने बनाईएको घर निर्माण समितका सचिव विकास चाम्लिङ राईले बताए ।
यता प्याकुरेलको घर निर्माण भने अन्तिम चरणमा नै पुगेको छ । घर निर्माण समितिका संयोजक कमल भट्टराईका अनुसार हालसम्म ६ लाख ५० हजार भन्दा बढी सहयोग संकलनबाट घर निर्माण भइरहेको छ । घरको सम्पूर्ण काम सक्नलाई अझै लागत बढ्ने बताइएको छ । ३ वटा कोटा, बाथरुम र किचनसहितको घर बन्दैछ । यो महिनाभित्र नै घर निर्माण सम्पन्न गर्ने र प्याकुरेलाई घर हस्तान्तरण गरिने बताइएको छ ।