धरान / लामो समयदेखि विवादका कारण रोकिएको धरान उपमहानगरपालिकाबाट सञ्चालित एकिकृत शहरी विकास योजना अन्तर्गत धरान खानेपानी आयोजनाको विजयपुर दरबार क्षेत्र परिसरमा खानेपानीको ट्याङ्की निर्माण गर्नका लागि जातिय संस्थाहरु र धरान उपमहानगरपालिका बीच सहमति भएको छ ।
धरान उपमहागरपालिका र चार जातिय संस्थाहरुले संयुक्त रुपमा विहीबार पत्रकार सम्मेलन गरेर सहमती भएको जानकारी दिएका छन् । विजयपुर सव सिस्टम अन्तर्गत विजयपुर दरबार क्षेत्रमा खानेपानी ट्याङ्की निर्माण सुरु गरेसँगै विवाद भएपछि निर्माण कार्य रोकिएको थियो ।
चार जातिय संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजले विजयपुर क्षेत्र किरातीहरुको ऐतिहासिक एवं साँस्कृतिक महत्वको क्षेत्र भएकोले उक्त क्षेत्रमा ट्याङ्की निर्माण गर्न नदिइ विरोध गर्दे आएका थिए ।
खानेपानीको ट्याङ्की निर्माण कार्य रोकिएसँगै विकल्पको रुपमा ट्याङ्की निर्माण गर्ने स्थानको खोजी गर्दा समेत उपयुक्त स्थान नभेटीएपछि विजयपुर दरबार क्षेत्रमा नै ट्याङ्की निर्माण गर्न दुवै पक्ष सहमतीमा पुगेका हुन् । धेरै स्थानमा विकल्पको खोजी गर्दा पनि सम्भव नभएपछि चार किरात आदिबासी संघसंस्था सम्मिलित विजयपुर दरबार क्षेत्र संरक्षण संघर्ष समिति र उपमहागरपालिकाबीच पटक पटक भएको बार्ता र छलफलबाट सोही स्थानमा ट्याङ्की निर्माण गर्ने सहमती भएको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले जानकारी दिए । सहमती पत्रमा ‘खानेपानी ट्याङ्की तथा भौतिक निर्माण गर्दा चार किरात आदीबासीको संस्कृति झल्किने गरी निर्माण गर्ने’, ‘ट्याङ्की दरबार क्षेत्रको कुनै छेउमा पुजा स्थललाई असर नपारी निर्माण गर्ने’, ‘दरबारको संरचना निर्माण गरी हाङ बुद्धिकर्ण राय र विजयपुरकार संस्थापक विजयनारायण रायको शालिक निर्माण गर्ने’, लगायतको १८ बुदे सहमती भएको मेयर सुब्वाले जानकारी दिए ।
एडिविको सहयोग तथा अनुदानमा संचालित आयोजना सन् २०१७ जुनमा सम्पन्न गरि सक्ने गरि सम्झौता भए पनि ट्रयाङकी निर्माणमा अवरोधले आयोजनाको थप बाँकी काम अगाडी बढ्न सकेको थिएन । पछि २०१८ फेव्रुवरीसम्म मिति थप गरिएको आयोजनाका व्यवस्थापक(प्रोजेक्ट मेनेजर) राजु पोखरेलले जानकारी दिए । शुक्रबार नै नगरको कार्यपालिकाको बैठक बसी जनजातीहरुको माग र उनीहरुसँग भएको सम्झौताको विषयमा अक्षरश पालना गर्ने गरि निर्णय गरि तत्कानै बाँकी कामलाई निरन्तरता दिने मेनेजर पोखरेलले जानकारी दिए । उनले भने–‘वाँकी काम तोकिएको समयमा पुरा गरेर धरानवासीलाई यही सुख्खायममा पानी खुवाउछौ ।’