काठमाण्डाैं /७७ वर्ष अघि (वि.सं. १९९७ माघ १२ गते) अाजकै दिन धर्मभक्त माथेमालार्इ तत्कालीन राणा शासकहरूले झुण्ड्याइएर हत्या गरेका थिए । धर्मभक्त माथेमा नेपालको राजनीतिक आन्दोलनको नेतामात्र नभएर देशको एक उत्कृष्ट खेलाडी समेत हुनुहुन्थ्यो । अध्ययन र राजनीतिसँगै उहाँले आफ्नो खेल क्षेत्रलाई पनि सँगसँगै अगाडी बढाउनुभयो । माथेमा नेपालको पहिलो व्यवसायिक शारीरिक सुगठक (प्रोफेसनल बडी बिल्डर) समेत हुनुहुन्थ्यो । उहाँले नेपालमा पहिलो पटक आधुनिक शारीरिक सुगठन प्रविधि भित्र्याउनुभएको थियो । बाल्यकालमा उहाँ निकै दुब्लो र पातलो हुनुहुन्थ्यो । दुब्लो र पतलो भएका कारण उहाँलाई साथीहरुले निकै गिज्याउँथे । माथेमा कलकत्तामा पढ्दा शरीर बनाउन जिमखाना भर्ना हुनुभयो । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हाँसिल गरेर उहाँ बंगाल च्याम्पियन समेत बन्नुभएको थियो ।

उहाँले काठमाडौं फर्केर ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना स्थापना गर्नुभयो । उहाँको जिमखानामा धेरै युवा जिम गर्न आउँथे । उहाँको जिमखान यतिसम्म चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरीहरु समेत जिमका लागि आउँथे ।
एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उहाँको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित हुनभयो । पछि त्रिभुवनले उहाँलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त गर्नुभयो ।
राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले विक्रम सम्बत १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभयो । राजा त्रिभूवनको उपस्थितिमा काठमाडौंको लैनचौरमा प्रजा परिषदको गोप्य बैठक बसिरहेका बेला उहाँ लगायत धैरैजनालाई पक्राउ गरियो । उहाँलाई राणाहरुले आजकै दिन अर्थात १९९७ माघ १२ गते सिफलमा बकैनाको रुखमा झुन्ड्याएर हत्या गरेका थिए । पहिलो पटक रूखमा झुन्ड्याउँदा रूखको हाँगा भाँचिएर दोश्रो पटक झुन्ड्याइएको थियो ।

 मिति खुल्न नसकेको तस्विरमा धर्मभक्त माथेमा अाफ्नी छोरी तथा श्रीमतीका साथमा

विश्वमणी सुवेदीकाे फेसबुकबाट