विराटनगर / प्रदेश नं १ को प्रदेशसभा सदस्यको प्रादेशिक अस्थायी राजधानी विराटनगरमा अाज हुन गइरहेको शपथ ग्रहण कार्यक्रमको तयारी पूरा भइसकेको छ ।
वीरेन्द्र सभागृहमा हुन गइरहेको ऐतिहासिक शपथग्रहण आइतबार बिहान १० बजेदेखि शुरु हुने कार्यक्रम रहेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराए ।
प्रदेशसभाका प्रमुख डा गोविन्द सुब्बाले सबैभन्दा पहिले प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई शपथग्रहण गराउनुहुनेछ । त्यसपछि, ज्येष्ठ सदस्यले अन्य प्रदेश सदस्यहरुलाई शपथ ग्रहण गराउनुहुने प्रजिअ आचार्यले जानकारी गराए ।
विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयबाट प्राप्त जानकारीअनुसार ७४ वर्षीय ओम सरावगी प्रदेशसभाका ज्येष्ठ सदस्य छन् । मतदाता नामावलीका आधारमा उनको जन्म २००० चैत ३० मा भएको हो । झापाका स्थायी बासिन्दा उनी नेपाली काँग्रेस पार्टीबाट समानुपातिक सदस्यमा छनोट भएका हुन । 
प्रदेशसभा सदस्यहरु अन्य जिल्लाबाट आउने क्रम जारी रहेको र आइतबार बिहान सबै सदस्य शपथ ग्रहणस्थलमा आइपुग्ने बताइएको छ ।
प्रदेश नं १ का १४ जिल्लाका २८ वटा संसदीय क्षेत्रका ५६ वटा प्रदेशसभाका ५६ जना निर्वाचित र समानुपातिका ३७ जना गरी ९३ जना प्रदेशसभा सदस्य छन् । 
प्रदेश नं १ मा मोरङबाट १२ जना, झापाबाट १० जना, सुनसरीबाट आठजना, इलामबाट चारजना, उदयपुरबाट चार जना प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित छन् ।
त्यस्तै, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र तेह्रथुम जिल्लाबाट २–२ जना प्रदेशसभामा निर्वाचित छन् । 

हिंसात्मक आन्दोलन नगर्न आग्रह
यसैबीच, प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्द सुब्बाले जनताले आफ्नै जिल्लामा राजधानी हुनुपर्ने चाहनाले गरिएको आन्दोलनलाई हिंसात्मकतर्फ नलग्न आग्रह गरेका छन् । 
विराटगरस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको आवासमा पत्रकारसँग कुरा गर्दै सुब्बाले आफ्नो स्थानमा राजधानी हुनुपर्ने चाहना स्वाभाविक भएपनि आफ्नो अधिकारका लागि अरुको अधिकार हनन हुने काम गर्न नहुने बताए ।
प्रदेश प्रमुख सुब्बाले १४ जिल्ला रहेको १ नं प्रदेशका सबै जिल्लावासीले आफ्नै ठाउँमा राजधानी होस् भन्ने चाहना हुनु स्वाभाविक हो, त्यो गलत मान्नु हुन्न, तर आफ्नो मागले अरुको अधिकारको हनन् गर्नु नहुने बताए । 
प्रमुख सुब्बाले प्रदेशको स्थायी राजधानी प्रदेशसभाले तोक्ने व्यवस्था रहेको भन्दै राजधानीका विषयलाई लिएर आन्दोलन नगर्नसमेत आग्रह गरेका छन् । आइतबार प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराइने र त्यसपछि उनले अन्य सदस्यलाई शपथ खुवाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।